समाचारबुधबार, फाल्गुण ७, २०७०
डिनलाई थाहै नदिई एघार कलेज सम्बन्धन प्रक्रियामा
सूर्यप्रसाद पाण्डे
तत्काल थप इन्जिनियरिङ कलेजलाई सम्बन्धन दिन नहुने अडान राख्दै आएको संस्थानलाई जानकारी नदिई विश्वविद्यालयले प्रक्रिया अघि बढाएको हो। सम्बन्धन लिएका इन्जिनियरिङ कलेजको अनुगमन र नियन्त्रण गर्ने निकायलाई छलेर आफूखुसी प्रक्रिया अघि बढाएपछि संस्थानका पदाधिकारी रुष्ट भएका छन्।
संस्थानले क्षमता नभएका कारण थप कलेजलाई सम्बन्धन दिन नहुने अडान राख्दै आएको थियो।
विश्वविद्यालय योजना महाशाखाले केही समयअघि इन्जिनियरिङ कलेज सञ्चालन गर्न चाहने संस्थालाई प्रस्ताव पेस गर्न आह्वान गरिसकेको छ।
यसमा १३ वटा संस्थाले कलेज सञ्चालनका लागि प्रस्ताव पेस गरेका छन्। शिक्षा मन्त्रालयले तीमध्ये ११ वटा कलेजका लागि आसयपत्र (लेटर अफ इन्टेन्ट) समेत दिइसकेको छ।
‘लेटर अफ इन्टेन्ट’ लिन बाँकी दुई संस्थाको प्रस्ताव भने अस्वीकार भएको योजना महाशाखाका प्रमुख प्रह्लाद पन्तले बताए। प्रस्ताव पेस गर्दा आवश्यक कागजात नपुर्या्एका नर्भिक इन्जिनियरिङ कलेज र गौतमबुद्ध इन्जिनियरिङ कलेजका निवेदन भने रद्द भएका हुन्। संस्थानका डिन भरत पहारीले कार्यालयलाई जानकारी नदिई सम्बन्धन प्रक्रिया अघि बढाइएको बताए।
उनले आफूले सार्वजनिक सूचना देखेरमात्र यसबारे थाहा पाएको बताए। संस्थानबाट सम्बन्धन लिएर १० वटा इन्जिनियरिङ कलेज सञ्चालनमा छन्। इन्जिनियरिङ पढाउने आंगिक कलेज चारवटा छन्।
सम्बन्धन लिएका कलेजहरूको अनुगमनका लागि कर्मचारी तथा अन्य संरचनाको स्तरवृद्धि गर्न संस्थानले माग गरिरहे पनि विश्वविद्यालयले चासो देखाएको छैन। कर्मचारी र भौतिक संरचना अभावकै कारण सञ्चालनमा रहेका कलेजको समेत अनुगमन गर्न नसकिएको पहारीले बताए।
‘अहिलेको संरचनाबाट थप कलेजको नियन्त्रण र अनुगमन सम्भव छैन, नयाँ कलेजलाई स बन्धन दिनुहुँदैन’, उनले भने। संस्थानले २०६७ सालदेखि सम्बन्धन रोकेको छ। संस्थानले आफ्नो क्षमता वृद्धि नगरी सम्बन्धन दिनुको कुनै अर्थ नभएको जानकारी लिखित रूपमै विश्वविद्यालयलाई गराएको छ। डिन कार्यालयले तत्काल ४० करोड रुपैयाँ र १५ जना कर्मचारी आवश्यक रहेको प्रस्ताव विश्वविद्यालयसमक्ष पेस गरिसकेको छ।
संस्थानले प्रत्येक वर्ष आफूअन्तर्गतका क्याम्पसको भौतिक सुविधा, प्रयोगशाला तथा अन्य संरचना अनुगमन गर्नुपर्छ। विश्वविद्यालयका उपकुलपति हीराबहादुर महर्जनले भने नयाँ सम्बन्धनका लागि आह्वान गरिए पनि निर्णय भइनसकेको बताए। उनले भने, ‘इन्जिनियरिङमा अर्को गोविन्द केसी जन्माउने पक्षमा हामी छैनौं, डिनसँग सल्लाह गरेर निर्णय गर्छौं।’
सम्बन्धन प्रक्रियामा रहेका कलेज
१. लर्ड कलेज अफ इन्जिनियरिङ
२. काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजी
३. सिम्बोइटिक इनटरनेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी
४. मेट्रो इन्जिनियरिङ कलेज
५. ट्रिनिटी इन्जिनियरिङ कलेज
६. माइलस्टोन इन्जिनियरिङ कलेज
७. जेभियर इन्जिनियरिङ कलेज
८. मोर्गान इन्जिनियरिङ कलेज
९. अमरसिंह इन्जिनियरिङ कलेज
१०. अरनिको फाउन्डेसन
११. गोरखा इन्जिनियरिङ कलेज
अन्नपूर्ण पोष्ट दैनिकबाट साभार
