समाचारआइतबार, फाल्गुण ११, २०७०
‘गृहमा विवाद: सत्ता दुरुपयोग गर्ने मनसाय’
११ फागुनमा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेस र एमालेबीच गृहमन्त्रालयको विवाद सत्ताको दुरुपयोग गर्ने दुराशायका कारण भएको आरोप लगाउँदै प्रधानमन्त्री नियुक्त भएको दुई हप्ता पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु दुख लाग्दो भएको वताएका छन् ।
“विधि, नियम र कानुनअनुसार चल्ने हो भने सबै मन्त्रालय बराबर हुन्,” थापाले भने, “विधिलाई बेवास्ता गर्दै व्यक्तिको हुकुमी शासन लाद्ने मनसायले नेपाली कांग्रेस र नेकपा एमालेले गृहमन्त्रालय आफ्नो भागमा पार्न खोजेका हुन् ।”
नयाँ संविधान जारी नभएसम्म कसैले पनि सरकार गिराउने खेलमा लाग्न नहुनेमा जोड दिँदै उनले भने, “प्रधानमन्त्री निर्वाचनका दिन समर्थन दिने सबै पार्टीले आफ्नो समर्थनलाई निरन्तरता दिनुपर्छ ।”
उनले संविधानसभामा तेस्रो स्थानमा रहेको एमाओवादीले उपसभामुख पद दाबी नगरे चौथो शक्तिका रुपमा रहेको आफ्नो पार्टीले उक्त पद लिन चाहेको बताएका थिए ।
