समाचारआइतबार, फाल्गुण ११, २०७०

गाडी देखेपछि सीताका आँखा रसाए

हिमालखबर

पहिलो पटक आफ्नै घर अगाडि गाडी देख्दा जाजरकोट रग्दा–६ कि सीता पुन चकित भइन् ।

गाडीको आवाज, डिजलको गन्ध र उडेको धुलो सबै अनौठा थिए ६१ बर्षीया सीताका लागि । टाढाबाट सानो देखिएको गाडी अचम्मको आवाज निकाल्दै ठूलै भएर आयो– उधुमसँग धुलो उडाउँदै । सीताले आँखा पुछिन् ।

करिब एक दशकअघि सदरमुकाम जाँदा पूरै दुई दिन लागेकोे सीता सम्झिन्छिन् । डोल्पासँग सिमाना जोडिएको रग्दा जिल्लाकै अति विकट गाविस हो । कपाल फुलेर सेतै भएकी सीताले भनिन्, “बुढेसकालमा भएपनि मोटर चढ्न पाइने भो ।” गाउँमा सडक पुगेपछि सीता जस्ता सयौंले आँखामा सुखका सपना संगाल्न थालेका छन् ।

जाजरकोट डोल्पा सडकको दल्ली –तल्लुवगर सडक खण्डको ट्रयाक खुलेपछि अहिले जीप सञ्चालनमा आएको छ । ११६ किलोमिटर लामो जाजरकोट–डोल्पा सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ८३ किलोमिटर सडक निर्माण गरिसकेको छ ।

नलगाड यातायातका ३ वटा जीप र आधा दर्जन ट्याक्टर संचालनमा आएको उक्त सडक खण्डमा पहिलो पटक जीप पुग्दा स्थानीयले बाजागाजासहित धुमधाम खुशियाली मनाएका छन् ।यातायात सेवा संचालनमा आएपछि दैनिक उपभोग्य बस्तु र अन्य मालसमान ढुवानीमा सहजता आएको छ ।

सेनाले काम दु्रतगतिमा भैरहेको र बजेट समयमै निकासा भए दुई वर्षभित्रै डोल्पा सदरमुकाममा सम्म गाडी पुर्‍याउने जनाएको छ । निर्माण कार्यदलका प्रमुख मेजर विश्वबन्धु पहाडी भन्छन्, “शुरुमै सडक रेखाङ्कनका विषयमा स्थानीयले विवाद गरे पछि काम ढिलो शुरु भए पछि बजेटको समस्या भयो ।”

चालु आवमा २० करोड रुपैयाँ माग गरिएकोमा सरकारले ९ करोड मात्र विनियोजन गरेको छ ।
राजेन्द्र कार्की, जाजरकोट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>