थप समाचारआइतबार, फाल्गुण ११, २०७०
भुलभुलेमा पहिलो औपचारिक अन्तरजातीय विवाह
लमजुङ निवासी सभासद जमिन्द्रमान घलेले आफ्नी एक्ली छोरी गिताको विवाह विरगञ्जका आशिष अधिकारीसँग गरिदिएका छन् । घले दम्पतीले औपचारिक समारोह गरी कन्यादान गरेपछि यो गाउँकै पहिलो औपचारिक अन्तरजातीय विवाह बन्न पुगेको छ ।
यसअघि अन्तर्जातीय विवाह हुने गरे पनि ती विवाहलाई परिवार र समाजले औपचारिकता भने दिएको छैन । कतिपय जोडी अझै घर पस्न समेत पाएका छैनन् ।
गुरुड र बाहुन समुदायको दुवैको चलन अनुसार मिश्रित विवाह संस्कार गरिएको हो ।
“कसैले राम्रो त कसैले अनौठो माने,” बेहुलीकी आमा कमला घलेले भनिन्, “छोरीले मन पराई, उसको चाहना हामीले स्वीकार गर्यौं ।”
लमजुड क्षेत्र नम्बर १ बाट सभासदमा निर्वाचित एमाले नेता घलेका छोरी ज्वाइँ दुवै दुवईमा काम गर्छन् । होटल म्यानेजमेन्टमा स्नातक गीता र आशिष दुवैको कलेज पढ्दादेखिको प्रेमलाई दुवैपक्षका परिवारले सहजै स्वीकार गरिदिएका छन् ।
युवराज श्रेष्ठ, लमजुङ
