समाचारआइतबार, फाल्गुण ११, २०७०
कञ्चनपुरमा प्रहरीसहित माओवादी नेता पक्राउ
कञ्चपुर जिल्ला प्रहरी कार्यालयले ११ फागुनमा पत्रकार सम्मेलन गरी नेकपा–माओवादीको भ्रातृ संगठन अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष पदम जोशी र प्रहरी जवान कमलसिंह ठगुन्नालाई पक्राउ गरिएको जनाएको छ ।
उनीहरु दुवै मिलेर भारतको खटिमाका ४५ वर्षीय दिनेश सुनेजालाई चरेश ओसारपसार र वेश्यावृत्तिको मुद्दा लगाएर फसाउन खोजेको अभियोग छ । कञ्चनपुरका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीका अनुसरा दुवै अभियुक्तले भीमदत्त नगरपालिका–१६ बसन्तपुरकी भागरथी मल्ललाई प्रयोग गरेर सुनेजालाई फसाउने प्रपञ्च रचेका थिए ।
महेन्द्रनगर बसपार्क नजिकैको नारायणी गेष्ट हाउसबाट दुई किलोग्रामभन्दा बढी चरेशसहित पक्राउ परेका सुनेजाको बयानका आधारमा क्रान्तिकारी अध्यक्ष जोशी, प्रहरी जवान ठगुन्ना र युवती मल्ललाई प्रहरीले दुई दिन अघि नियन्त्रणमा लिएको होे ।
प्रहरीसँगको बयानमा आप्mनो गल्ती गरेको बताएका अभियुक्तहरुले पत्रकार सम्मेलनमा पनि प्रलोभनमा परेर गल्ती गरिएको बताएका छन् ।
पारिवारिक विवादमा रहेका सुनेजाको सम्पत्ती हडप्नको लागि उनका आफन्तजनले क्रान्तिकारी अध्यक्ष र प्रहरी जवान ठगुन्नालाई प्रयोग गरेको प्रहरीले जनाएको छ । सुनेजा सुतेको कोठमा चरेश राख्न लगाएर प्रहरीलाई पक्राउ गर्न लगाएको प्रहरीको भनाई छ ।
प्रहरी उपरीक्षक चौधरीले घट्नाको मुख्य योजनाकार अखिल क्रान्तिकारीका अध्यक्ष जोशी भएको बताए ।
क्रान्तिकारी अध्यक्ष जोशी र ठगुन्नाविरुद्ध लागुऔषध नियन्त्रण तथा सजाय ऐन २०३३ अन्तरगत कारवाही प्रक्रिया अगाडि बढाइएको र भारतीय नागरिक सुनेजा तथा युवती मल्लाविरुद्ध सरकारी वकिलको कार्यालयको सल्लाहमा कारवाही प्रक्रिया अघि बढाईने चौधरीले बताए ।
बच्चु विक, महेन्द्रनगर
