समाचारसोमबार, फाल्गुण १२, २०७०
कांग्रेस–एमालेको भागमा कुन–कुन मन्त्रालय
मन्त्रालय बाँडफाँड गर्ने अनौपचारिक सहमति भएसँगै मन्त्रिमण्डल बिस्तार हुने भएको छ । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय एमालेलाई दिन प्रधानमन्त्री सुशील कोइराला तयार भएपछि दुई दलबीच ११ फागुनमा वार्ता शुरु भएको थियो ।
१२ फागुन बिहानसम्मको अनौपचारिक वार्ता र सहमतिका आधारमा हाललाई दुवै दललाई १०/१० वटा मन्त्रालय वितरण गरिने भएको एमाले नेता कृष्णगोपाल श्रेष्ठले बताए । उनका अनुसार कांग्रेसले रक्षा, अर्थ, सूचना तथा सञ्चार, सहरी विकास, शिक्षा, स्थानीय विकास, आवास तथा भौतिक, शान्ति तथा पुनःनिर्माण र कानुन तथा न्याय मन्त्रालय राख्ने भएको छ ।
एमालेको भागमा भने गृह, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, संस्कृति/पर्यटन, वन तथा भूसंरक्षण, युवा तथा खेलकुद, कृषि तथा सहकारी, भूमिसुधार र ऊर्जा मन्त्रालय परेको छ । २६ मन्त्रालयमध्ये बाँकी पाँच वटा मन्त्रालय हाललाई प्रधानमन्त्रीले राख्ने र सहमतिका आधारमा अन्य साना दललाई दिइने भएको छ ।
नेकपा माले र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा जाने भएका छन् । मन्त्रालयको वितरणबारे दुवै दलको वार्ता टोलीले तयार गरेको खाकामा शीर्ष नेताबीच अन्तिम छलफल भई सम्भवतः १२ फागुन साँझसम्मा मन्त्रिमण्डल बिस्तार गरिने छ ।
रासस
