समाचारमंगलबार, फाल्गुण १३, २०७०
उपाध्यक्षमा घर्ती र थापाको उम्मेदवारी
१४ फागुनमा हुने संविधानसभा उपाध्यक्षको निर्वाचनका लागि एमाओवादी नेता ओनसरी घर्तीले उम्मेदवारी दर्ता गराएकी छन् । घर्तीको प्रस्तावकमा एमाओवादी नेता कृष्णबहादुर महरा र समर्थकमा नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना छन्।
नेपाली कांग्रेस र नेकपा एमालेले समेत ओनसरीका पक्षमा मतदान गर्ने भएपछि उनी उपाध्यक्ष हुने करिबकरिब पक्का भएको छ ।
रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित घर्ती एमाओवादी नेता वर्षमान पुनकी श्रीमति हुन् । बाबुराम भट्टराइ नेतृत्वको मन्त्रिपरिषदमा उनी युवा तथा खेलकुद मन्त्री थिइन् ।
थापाको पनि उम्मेदवारी
संविधानसभा उपाध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएको छ ।
संविधानसभा उपाध्यक्ष पदको निर्वाचनका लागि नेमकिपाकी अनुराधा थापाले उम्मेदवारी दर्ता गराएकी हुन् ।
थापाको प्रस्तावकमा प्रेम सुवाल र समर्थकमा डिल्लीप्रसाद काफ्ले छन् । दुवै नेमकिपाकै सभासद हुन् ।

