समाचारमंगलबार, फाल्गुण १३, २०७०
आन्तरिक किचलोले मन्त्रिपरिषद विस्तारमा ढिलाई
कांग्रेस–एमालेबीचको सहमतिबाट गृहमन्त्रालय एमालेले नै पाउने निश्चित भएको र उपाध्यक्ष वामदेव गौतम गृहमन्त्री बन्ने टुंगो लागे पनि एमालेबाट सरकारमा सहभागी हुने अन्य मन्त्रिहरुको नाम चयन गर्ने विषयमा शीर्ष नेताहरुबीच मतभिन्नता भएपछि आइतबार नै हुने भनिएको मन्त्रिपरिषद विस्तार अझै हुन सकेको छैन ।
पहिले नेपाली कांग्रेसभित्र सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच को को मन्त्री हुने भन्ने विषयमा विवाद भए पनि अहिले कांग्रेसमा सहमति भइसकेको छ तर, एमालेले निर्णय गर्न सकिरहेको छैन ।
एमाले संसदीय दलका नेता केपी ओली भर्ना भएको अस्पताल ग्राण्डीमै स्थायी कमिटीको बैठक बसेपछि रुष्ट भएका बरिष्ठ नेता माधवकुमार नेपाल बैठकमै गएनन् । मन्त्रीहरुको सूची तयारीका लागि नेपाल निवास कोटेश्वर पुगेका उपाध्यक्ष वामदेव गौतमलाई नेता नेपालले ‘एमालेका सबै मेरै पक्षका हुन्, जसलाई बनाउन मन लाग्छ बनाउनुस,’ भनेको नेपाल निकट स्रोतले जनाएको छ ।
त्यसैगरी एमाले सचिव विष्णु पौडेल सञ्चारमन्त्री बन्ने सञ्चारमाध्यमहरुले उल्लेख गरे पनि उक्त मन्त्रालय नेपाली कांग्रेसले लिने र आफूले चाहे अनुसारको ‘पोर्टफोलियो’ नपाउने भएपछि पौडेल मन्त्री नहुने बुझिएको छ ।
मन्त्रीहरुको अन्तिम सूची तयार पार्न अहिले एमाले नेताहरु आन्तरिक छलफलमा छन् । एमालेमा सहमति भयो भने आजै मन्त्रिपरिषद विस्तार हुने संभावना छ ।
