समाचारबिहीबार, फाल्गुण १५, २०७०
अधिकारीका हत्यारा र ढुंगेललाई कारवाही हुन्छः उपप्रधानमन्त्री गौतम
गृहमन्त्री वामदेव गौतमले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी र हत्या अभियोगमा अदातलबाट सजाए सुनाइएका एमाओवादी नेता बालकृष्ण ढुंगेललाई कारवाही गरिने बताएका छन् ।
“कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कारवाही गर्न केही समय लाग्छ,” उनले भने, “अपराधीहरु विभिन्न आवरणमा लुकेका छन, उनीहरुलाई बाहिर निकालेर कारवाही हुन्छ ।”
“बालकृष्ण ढुङगेल किन पक्राउ परेनन् त्यो हेर्नु पर्छ, यस्तै अवस्था रहे केही ढिला होला तर उनीमाथि कानून अनुसार कारवाही हुन्छ,” गौतमले थपे ।
‘माधव नेपाललाई कस्ले कारवाही गर्ने ?’
एमाले उपाध्यक्ष समेत रहेका गौतमले पार्टी निर्णय विपरित बोल्दा आफू धेरै पटक कारवाहीमा परे पनि स्थायी समितिको बैठकमा नआउने र निर्णय पनि मान्दिन भन्ने बरिष्ठ नेता माधवकुमार नेपाललाई कसले कारवाही गर्ने भनि प्रश्न समेत गरे ।
“ म जस्तो सेरेमोनियल उपाध्यक्षले वरिष्ठ नेतालाई पेल्ने र अपमान गर्ने भन्ने हुँदैन” रिपोर्टर्स क्लब नेपालद्वरा आयोजित शुभकामना कार्यक्रममा बोल्दै गौतमले भने, “उहाँ अध्यक्षपछि दोस्रो आसनमा बस्नु हुन्छ, म चौथो आसनमा बस्ने सेरेमोनियल ब्यक्तिले उहाँलाई कसरी कारवाही गर्न सक्छु र !”
गौतमले आफूलाई पार्टीको नेतृत्व गर्दै सरकारमा पठाउने प्रस्ताव नेपालले नै गरेको र कांग्रेसले गृहमन्त्रालय दिने सहमति पालना नगर्दा सरकारमा नजाने निर्णय समेत नेपालकै उपस्थितिमा भएको दाबी गरे ।
उनले भने, “पछिल्लो समयमा मन्त्री चयनमा समेत उहाँसँग सल्लाह लिएरै निर्णय भएको हो ।”
केपी ओली संसदीय दलको नेता बनेपछि नेता नेपालले आफूलाई हेर्ने दृष्टिकोणमा फरक आएको पनि गौतमले भने ।
गौतमले आफू बाहेक सरकारमा जाने नौ जनामा पार्ने गरी नेपालले १५ जनाको नाम दिएको भन्दै त्यसमध्ये तीन जना मन्त्री मण्डलमा सहभागि समेत भएको बताएका थिए ।
