समाचारशनिबार, फाल्गुण १७, २०७०
प्रधानमन्त्री कोइराला म्यानमार जाँदै
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को तेस्रो शिखर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री सुशील कोइराला १८ फागुनमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री कोइरालाले सदस्य मुलुकका राष्ट्र/सरकार प्रमुख सभागी हुने उक्त सम्मेलनलाई सम्बोधन गर्ने छन् ।
सम्मेलनमा बङ्गलादेशमा बिम्स्टेकको स्थायी सचिवालय स्थापना, त्यसको महासचिवमा सुमिथा नाकन्दलाको नियुक्ति तथा भुटानमा सांस्कृतिक उद्योग आयोग र सांस्कृतिक उद्योग अवलोकन केन्द्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिम्स्टेकले व्यापार तथा लगानी, प्राविधिक, ऊर्जा, यातायात तथा सञ्चार, पर्यटन, मत्स्यपालन, कृषि, प्रतिआतङ्कवाद, अन्तरदेशीय अपराध नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, गरिबी निवारण, जलवायु परिवर्तन र जनता जनताबीचको सम्पर्क, विकासका विविध आयाम र साझा चासोका १४ विषयलाई उच्च प्राथमिकता दिँदै आएको छ ।
प्रधानमन्त्री कोइरालाले शिखर सम्मेलनमा भाग लिने क्रममा भारत र बङ्गलादेशका प्रधानमन्त्रीसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीेले विपक्षी नेत्री आङ सान सुचीसँग छलफल गर्र्नुहुने परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वर्णानुक्रमअनुसार सङ्गठनको अध्यक्षता गर्ने बिम्स्टेकको नियम भएकाले वर्तमान अध्यक्ष मुलुक म्यान्मारबाट तेस्रो शिखर सम्मेलनको समाप्तिसँगै नेपाल अध्यक्ष बन्नेछ । यससँगै चौथो बिम्स्टेक सम्मेलन आयोजना गर्ने दायित्व नेपालमा आउने छ ।
काठमाडौँमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलन भएपछि त्यसको अध्यक्षता पनि नेपालले गर्ने भएकाले बिम्स्टेकमा नेपालको सहभागिता एउटा महत्पूर्ण अवसर भएको छ ।
पारस्परिक लाभका लागि प्रभावकारी क्षेत्रीय सहयोग प्रवद्र्धनका साथै क्षेत्रीय एकीकरण र समृद्धिमा योगदान गर्न नेपालको दृष्टिकोण एमव् क्षमता प्रस्तुतिमा पनि सम्मेलन महत्वपूर्ण हुने ठानिएको छ । प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका स्वकीयसचिव, परराष्ट्रमामिला सल्लाहकार, निमित्त परराष्ट्र सचिव, नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।
