थप समाचारआइतबार, फाल्गुण १८, २०७०
फेसबुकले जुटायो उपचार खर्च
आगोले शरिरको तल्लो भाग पुरै जलेका पाँचथर, एकतिन गाविस–३ का शक्तिमान आङथोपुलाई भर्ना भएलगत्तै जिल्ला अस्पतालले थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा जान सल्लाह दियो । १५ फागुन राति आफैले ओढेको सिरकबाट सल्किएको आगोले शरिरको तल्लो भाग जले पछि उनी १६ फागुन बिहान अस्पताल भर्ना भएका थिए ।
रकमको अभावका कारण उनी सुविधासम्पन्न अस्पतालमा जान सकिरहेका थिएनन् । तर, उनको थप उपचारको जोहो गरिदियो फेसबुकले ।
फिदिम–१ का कृष्ण भट्टराईले अस्पताल पुगेर आङथोपुको तस्वीरसहितको जानकारी ‘हाम्रो फिदिम’ नामको फेसबुक पेजमा पोष्ट गरे । ‘हाम्रो फिदिम’ फेसबुक पेजकै कारण आङथापुका लागि उपचार खर्च जुट्यो ।
फेसबुककै पोष्ट पढेपछि फिदिमबजारका व्यवसायी सुयोग सिग्देलसहितको समूहले १७ फागुनमा रकम संकलन ग¥यो । उनीहरुले आङथोपुलाई रु. ३१ हजार १७६ सहयोग गरे । त्यो रकमले उनलाई थप उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगियो ।
उनका भतिजा ज्ञानबहादुरले भने, “उहाँहरुबाट प्राप्त रकमले काकालाई उपचारका लागि धरान ल्याएका छौं ।” फेसबुक पेजका कारण रकम जुटेपछि उत्साहित अस्पतालका डाक्टर पेन्छा नेम्बाङले पनि उनको उपचारका लागि नगद सहयोग गरे । उनले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र लेखेर थप उपचारका लागि समन्वय पनि गरिदिए ।
लक्ष्मी गौतम, पाँचथर

