समाचारबिहीबार, फाल्गुण २२, २०७०
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको विरोध
नेकपा एमाले केन्द्रीय कमिटी बैठकले केही दिनअघि प्रधानमन्त्री सुशील कोइरालाले ‘टनकपुर भारतको हो’ भनी दिएको अभिव्यक्तिप्रति विरोध जनाउँदै यसबारे सरकारको धारणा स्पष्ट पार्न माग गरेको छ ।
एमाले केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्न २२ फागुनमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीको निर्णय सुनाउँदै एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । १६ फागुनमा नेपालगञ्जमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कोइरालाले ‘टनकपुर भारतकै थियो उसकै हो, तर गिरिजाबाबुले टनकपुर बेच्यो भनेर नचाहिंदो हल्ला चलाइयो’ भनेका थिए ।
त्यस्तै एमालेले स्थानीय निकाय निर्वाचनको मिति अविलम्ब घोषणा गर्न पनि सरकारसँग माग गरेको छ ।
त्यसैगरी २४ जेठबाट महाधिवेशन शुरु गर्ने निर्णय गरेको एमालेले केन्द्रीय कमिटि, अनुशासन आयोग, लेखा परीक्षण आयोग र निर्वाचन आयोगका सदस्यहरु महाधिवेशनमा स्वतः प्रतिनिधि हुने व्यवस्था गरेको छ ।
