समाचारशुक्रबार, फाल्गुण २३, २०७०
बढदो प्रदुषणले सिमरामा जहाज बस्न समस्या
-श्याम गुप्ता, बारा
बाराको सिमरा विमानस्थल वरपरका उद्योगबाट निस्कने बाक्लो धुवाँका कारण विमान उडान र अवतरणमा समस्या हुने गरेको नागरिक उड्डयन प्राधिकरण सिमराले जनाएको छ । “वरपरका उद्योगहरुबाट निक्लेको बाक्लो धुवाँले भिजिविलिटीमा समस्या हुँदा विमान उड्न र अवतरण गर्न समस्या भएको छ,” नागरिक उड्डयन प्राधिकरण सिमरा, बाराका प्रमुख उत्सवराज खरेलले बताए ।
उनले यहाँका उद्योग तथा कल–कारखानाबाट निस्कने धुवाँ मापदण्ड विपरित भएको जानकारी दिए ।
धुवाँकै कारण सिमरा विमानस्थलमा रात्री अवतरण हुन सकेको छैन । रात्री अवतरणका लागि आवश्यक पूर्वाधार निर्माण पूरा भएर पनि धुवाँकै कारण विमान अवतरण हुन नसकेको हो ।
२००८ सालमा निर्माण भएको सिमरा विमानस्थलमा अहिले दैनिक आठ वटा उडान हुँदै आएको छ । सिमरामा बुद्ध एयरको सात र सिम्रिक एयरको एउटा विमानले उडान भर्ने गरेका छन् ।

