थप समाचारशुक्रबार, फाल्गुण २३, २०७०
भूटानी शरणार्थीको बढ्दो आत्महत्या
– जाङ्वु शेर्पा
दुई सन्तानका पिता बाल खुलाल (४०) ले ९ डिसेम्बर २०१३ मा अमेरिकाको एटलान्टाको क्लार्कस्टनमा झुन्डिएर आत्महत्या गरे। एक वर्षअघि झापाको खुदुनबारीमा रहेको शरणार्थी शिविरबाट पुनर्वासमा त्यहाँ पुगेका उनले आत्महत्या गर्नुको कारण कसैलाई थाहा छैन।
शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोगले सन् २००८ देखि तेस्रो देशमा पुनर्स्थापना कार्यक्रम शुरू गरेपछि अमेरिकाको अरिजोना, कोलोराडो मिसौरी, मेरिल्याण्ड, न्यूयोर्क ओहायो, पेन्सिलभेनिया, वासिङ्टन, टेनिसा र टेक्सास गरी १० राज्यमा झन्डै ७१ हजार भूटानी शरणार्थी पुगेका छन्।
अमेरिकामा शरणार्थी पुनर्स्थापनाको संयोजन गरिरहेको ‘अफिस अफ रिफ्यूजी सेटलमेन्ट’ का अनुसार सन् २०१२ को अन्त्यसम्म आत्महत्या गर्ने भूटानीको संख्या १६ पुगेको छ। तर अमेरिकास्थित भूटान समाचार समिति का अनुसार ३० जना भूटानीले आत्महत्या गरेका छन्।
हरेश खाएर आत्महत्या
झापाको बेलडाँगी शिविरमा छँदाकी मेधावी छात्रा मेनुका पौडेल (२१) अमेरिका पुगेपछि नयाँ भविष्यको आशाले उत्साहित बनिन्। तर, नर्स बन्ने योजना बनाइरहेकी उनी दुई महीनापछि अमेरिकाको अरिजोनामा रहेको आफ्नो डेरामा कुर्ताको सलमा झुन्डिएको अवस्थामा फेला परिन्। उनले आत्महत्या गर्नुको कारण अहिलेसम्म रहस्यमै छ।
अमेरिकाको अरिजोनामै रहेका उनका दाइ हरि पौडेल संघर्षपूर्ण जीवनसँग थाकेर बहिनीले आत्महत्या गरेको हुनसक्ने अनुमान गर्छन्। रिफ्यूजी सेटलमेन्टका अनुसार, २०१० मा सबैभन्दा धेरै ६ जना भूटानी शरणार्थीले आत्महत्या गरेका थिए। सन् २००९ मा चार, २०११ मा पाँच र २०१२ मा एक जनाले आत्महत्या गरेको उसको तथ्याङ्क छ।
भूटानी शरणार्थीको आत्महत्या दर बढ्दै गएपछि अमेरिकाको जनस्वास्थ्य तथा रोग नियन्त्रण महाशाखाले ५ जुलाइ २०१३ मा स्वास्थ्य क्षेत्रका विज्ञ रहेको एउटा टोली गठन गरेको थियो। टोलीले भूटानी शरणार्थीको स्वास्थ्य सम्बन्धी संयोजन गरिरहेको जनस्वास्थ्य विभागसँगको सहकार्यमा ५७९ जना भूटानीको मानसिक अवस्था अध्ययन गरेर प्रतिवेदन निकाल्यो।
सो प्रतिवेदन राम्रै भए पनि कार्यान्वयन फितलो भएकाले उपलव्धि नभएको अमेरिकास्थित ‘भूटान समाचार समिति’ का प्रधान सम्पादक बुद्धमणि ढकाल बताउँछन्। सन् २०१३ मा ९ जना भूटानी शरणार्थीले आत्महत्या गरेको उनको दाबी छ। जसमध्ये नोभेम्बर महीनामा मात्र ६ जनाले आत्महत्या गरेको उनी बताउँछन्।
तनाव मुख्य कारण
२०१० मा अमेरिकाको साइरसस पुगेर पेन्सिलभेनियाको कलेजमा अध्ययन गरिरहेका भूटानी शरणार्थी मित्र मिश्र त्यही वर्षको १० जुलाई बिहान फूटबल खेल्ने मैदानमा रहेको रूखमा झुन्डिएको भेटिए। अघिल्लो साँझ् साथीहरूसँग उनी त्यही मैदानमा फूटबल खेलेर डेरा लाग्दा आत्महत्या गर्ने संकेत नदेखिएको उनका साथीहरू बताउँछन्।
मिश्रको नजिकै बस्ने अर्का भूटानी शरणार्थी भने पिताको मृत्युपछि आमाले अर्काे विवाह गरेकाले मिश्र तनावमा रहेको बताउँछन्।
२०१० मा न्यूयोर्क बफेल्लो शहर पुगेको दुई हप्तामै धनमाया गुरुङ (३३) ले झ्ुन्डिएर आत्महत्या गरिन्। त्यही शहरमा रहेकी निर्मला निरौला (३५) ले पनि अमेरिका पुगेको दुई महीनामै डेरामा झुन्डिएर आत्महत्या गरिन्। दुवै आत्महत्याको कारण अज्ञात छ।
२००९ मा न्यूयोर्कको साइरसस पुगेका प्रेम रेग्मी (२०) ले ७ जून २०१३ मा आफ्नै कोठामा झ्ुन्डिएर आत्महत्या गर्नुको कारण पनि अज्ञात छ। ओहायो पुगेका नारायण अधिकारी (२८) ले पनि आत्महत्या गर्नुको कारण खुलेको छैन।
नोभेम्बर २०१३ मा बेलडाँगी शिविरबाट कनेक्टिक पुगेका रामबहादुर थापा (४०) तीन दिन बेपत्ता भएपछि खोज्दै जाँदा घर नजिकैको रूखमा झुन्डिएको भेटिए। त्यसको एक सातापछि न्यूयोर्कको बफेल्लो शहर नजिकै तीन सन्तानकी आमा गंगा पौडेल (४०) लाई आफ्नो कोठामा आत्महत्याको प्रयास गर्दागर्दै छिमेकीको सहयोगमा अस्पताल पुर्याइए पनि तीन दिनपछि उनको मृत्यु भयो। दुवै जनाले आत्महत्या गर्नुको कारण अज्ञात छ।
झापाको बेलडाँगी शरणार्थी शिविरमा पत्रकार वाजे भनेर चिनिएका रामबहादुर गुरुङ (७३) ले न्यू हेम्पसायर राज्यको कन्कर्ड शहरमा रूखमा झुन्डिएर आत्महत्या गरे। साइरसमै बस्ने १४ वर्षीय बालकले पनि (नाम गोप्य राखिएको) पनि आत्महत्या गरे।
किन हुन्छ आत्महत्या
अमेरिकामा पुनर्स्थापना भएका भूटानीहरूको आत्महत्याको जड मानसिक तनाव रहेको देखिन्छ। आत्महत्या सम्बन्धी सन् २००९ देखि २०१२ बीच अमेरिकाको जनस्वास्थ्य तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा पनि मानसिक स्थितिलाई आत्महत्याको मूल कारण बताइएको छ।
शरणार्थीको आत्महत्याको दर बढ्दै गएपछि ‘सेन्टर फर डिजिज कन्ट्रोल’ ले सन् २०१३ मा स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनले भूटानी शरणार्थीको आत्महत्यामा १५ प्रतिशत घरेलु हिंसा र बाँकी चरम निराशा र तनाव कारण भएको उल्लेख गरेको छ। आत्महत्या गर्नेमा १७ देखि ३० वर्ष बीचका युवा बढी रहेको पनि तथ्याङ्कले देखाउँछ।
प्रतिवेदनले सार्वजनिक गरेको तथ्यलाई कोलोराडोस्थित भूटानी शरणार्थी शिविरका क्याम्प केस म्यानेजर सेर मिर्जा पनि स्वीकार्छन्। सेरका अनुसार, झापाको शरणार्थी शिविरमा हुँदा पारिवारिक दायित्व वहन नगरेका युवाहरूमा अमेरिका पुगेपछि दायित्वको बोझ् थपिने भएकाले निराशा उत्पन्न हुने गर्छ। सेर भन्छन्, “कतिपयले काम गर्ने अवसर पाए पनि एउटै स्थानमा धेरै समय टिक्न नसकेर काम छाड्छन्। कतिपयमा भाषा र काम गर्ने वातावरणबीच तालमेल नमिल्दा तनाव बढेको देखिन्छ।”

शरणार्थीहरूको निम्ति अमेरिका आगमनपश्चात् ६ महीनादेखि एक वर्षसम्मको अवधि अन्यन्त संघर्षशील अवस्था हो। त्यो समय पार गर्न सके जिन्दगीलाई सहज रूपमा अगाडि बढाउन सक्छन्। जीवन सुब्बा, पूर्व अध्यक्ष भूटानीज कम्युनिटी सेन्टर
भूटानीज कम्युनिटी सेन्टरका पूर्व अध्यक्ष जीवन सुब्बाका अनुसार, शरणार्थीहरूको निम्ति अमेरिका आगमनपश्चात् ६ महीनादेखि एक वर्षसम्मको अवधि अन्यन्त संघर्षशील अवस्था हो। त्यो समय पार गरिसकेपछि भने उनीहरूले जिन्दगीलाई सहज रूपमा अगाडि बढाउन सक्छन्। त्यो अप्ठ्यारो अवधि पार गर्न समुदायले सहयोग गर्नुपर्ने उनको भनाइ छ।
आत्महत्या दर कम गर्न अमेरिकामा रहेका सबै शरणार्थी क्याम्पमा आकस्मिक इकाइको व्यवस्था गनुपर्ने र नयाँ भूटानीलाई त्यहाँको वातावरणबारे जानकारी गराउँदै एकअर्काबीच मनको कुरा साटासाट गर्ने वातावरण बनाउनुपर्ने सुब्बा बताउँछन्।
शरणार्थी आत्महत्यालाई अध्ययन गरिरहेका भूटान समाचार समिति का प्रधान सम्पादक ढकाल जीवनको गन्तव्य हतारमा प्राप्त गर्न खोज्दा समस्या पर्ने गरेको धारणा राख्छन्। विभिन्न शिविरमा रहेका भूटानीहरूका अनुसार अरूसँग संवाद गर्न भाषाको समस्या पर्ने र भाषा सिक्न नसकिएला भनेर निराश हुने भएकाले पनि आत्महत्याका घटना बढेको हो।
शरणार्थीहरूलाई भाषाको समस्या पर्नुमा कतिपय शरणार्थी अगुवाहरू ‘इन्टरनेशनल माइग्रेसन अर्गनाइजेसन’ को कमजोरी रहेको तर्क गर्छन्। तेस्रो देशमा शरणार्थीलाई पुनर्स्थापना गर्दा पुनर्स्थापना हुने मुलुकमा आइपर्ने समस्याबारे थाहा नदिनु सो संस्थाको कमजोरी रहेको उनीहरूको भनाइ छ। एकै परिवारकालाई एउटै देशको तीन स्थानमा पठाइएकाले वृद्धहरूमा मानसिक समस्या ल्याएको उनीहरू बताउँछन्।
जनस्वास्थ्य सम्बन्धमा इमोरिक विश्वविद्यालय एटलान्टाबाट स्नातकोत्तर गरिरहेका पीके सुवेदीका अनुसार झापाको शिविरमा हुँदादेखि नै मद्यपान सेवन गर्ने आदत बसेका शरणार्थीहरूको परिवारमा त्यही कारण घरेलु हिंसा बढाएको छ। त्यसले पारिवारिक असन्तुलन ल्याएको र आत्महत्यातर्फ धकेलेको उनको भनाइ छ।
आत्मविश्वास आवश्यक
२७ वर्षीय भूटानी शरणार्थी प्रज्ज्वल घिमिरे (नाम परिवर्तन) ले प्रेमिकासँग सम्बन्ध तोडिएपछि मानसिक तनाव बढेर काम र पढाइ छोडे। त्यसपछि अरू विरक्तिएर डाँडाकाँडा जान थालेका उनी आत्महत्या गर्ने मनस्थितिमा पुगिसकेका थिए। तर, एक जना भूटानी मित्रले सम्झाएपछि सम्हालिएका उनी सुन्दर जीवनलाई क्षणिक आवेशको शिकार नबनाउन अरूलाई सुझाउँछन्।
अमेरिकाका विभिन्न भूटानी शरणार्थी शिविरमा मानसिक रोग सम्बन्धी कार्यशालाहरू आयोजना गर्दै आएका पीके सुवेदी आत्महत्यालाई रोक्न बाहिरी समुदाय भन्दा भूटानी समुदाय नै सक्रिय हुनुपर्ने बताउँछन्। एक आपसमा समस्या र भावना साटासाट गर्ने थलो बनाउनुपर्ने उनको सुझाव छ।
पत्रकार ढकाल पनि समस्या पर्दा समुदायका अगुवालाई खबर गर्ने प्रणाली विकास गर्दा समस्या कम हुने विश्वास गर्छन्। झापाको शिविरमा शुरू भएको गुटबन्दीको राजनीति समाप्त हुँदा आत्महत्याको समस्या कम हुने उनको धारणा छ।
अमेरिकामै संवेदनशील विषय बनेको भूटानी शरणार्थीको आत्महत्याबारे गत महीना अमेरिकामा मानसिक रोग सम्बन्धी जानकारी संकलन गर्ने मेन्टल हेल्थ एसोसिएसन र नर्थ क्लारोलिना राज्यको स्यारोलेटमा रहेको भूटानीज कम्युनिटी सेन्टरले कार्यशाला आयोजना गरेको थियो। त्यसको निष्कर्ष अनुसार, भूटानी शरणार्थी शिविरहरूमा इकाई गठन गर्ने प्रक्रिया सुरुआत पनि भएको छ। त्यस्ता कार्यक्रमले शरणार्थीमा चेतना प्रवाह गर्ने नर्थ क्यारोलिनामा रहेको भूटानी कम्युनिटी सेन्टरका अध्यक्ष हस्त प्रधानको विश्वास छ।
यसैबीच आत्महत्यालाई नियन्त्रण गर्न १४ जनवरीमा अमेरिकी विज्ञहरू सम्मिलित एक टोली गठन गरिएको छ। टोलीले आत्महत्या गरेका शरणार्थी शिविरको अवलोकन गरी ६ महीनामा प्रतिवेदन तयार पार्ने बताइएको छ। आत्महत्याका घटनाको स्थलगत अध्ययन गरी टोलीले आत्महत्या रोक्न विशेष कार्यक्रम निर्माण गर्ने पीके सुवेदीको विश्वास छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
