समाचारशनिबार, फाल्गुण २४, २०७०
काठमाडौंमा अर्को विमान दुर्घटनाबाट जोगियो
काठमाडौं विमानस्थलमा २४ फागुन दिउँसो करिब पौने १ बजे अवतरण गरेको इण्डिगो एयरवेजको एअरवस ३२० भीटिआइयु विमान अवतरण गर्ने क्रममा पाङ्ग्रामा आगो लागि क्षतिग्रस्त भएको छ ।
विमानमा केही क्षति पुगे पनि यात्रु र चालक दलका सदस्य सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ ।
विमानको दायाँतर्फको चक्का ह्वार्ह्वार्ती बल्न थालेपछि नेपाल वायु सेवा निगमका लोडर बलराम गुरुङले आगो निभाउने ग्याँससहितको ट्याङ्की दौडाउँदै लगेर आगो निभएको विमानस्थल स्रोतले जनाएको छ ।
“अवतरण गरेको विमानको चक्कामा लागेको आगोले दायाँ पखेटालाई पनि छोइसकेको थियो तर गुरुङले आफ्नो ज्यानको परवाह नगरी ठूलो दुर्घटना हुनबाट जोगाए,” स्रोतले भन्यो । गुरुङले आगो निभएको केही बेरमै दमकल, नेपाली सेना र नेपाल प्रहरीले घटनास्थल पुगेका थिए ।
विमान १८० सिट क्षमताको हो ।
२३ फागुनमा मात्रै काठमाडौंबाट लामिडाँडाका लागि उडेको नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान सय फिट माथि पुगेपछि इञ्जिनमा आगो लाग्दा आपतकालीन अवतरण गर्नु परेको थियो ।
