समाचारशनिबार, फाल्गुण २४, २०७०
सप्तरीमा जलाएर महिलाको हत्या प्रयास
२४ फागुनमा सप्तरी राजविराजकी २६ वर्षीया महिलाको शरीरमा आगो लगाएर उनकै परिवारका सदस्यहरुले हत्या प्रयास गरेका छन् ।
दुई साता अगाडि पति विदेश गएपछि घरमा सासु, ससुरासहित परिवारका अन्य सदस्यसँग बस्दै आएकी राजविराज ७ की २६ वर्षीय नजराना खातुनलाई उनकै परिवारद्वारा आगो लगाएर हत्या प्रयास गरिएको प्रहरीले जनाएको छ ।
“हत्या गर्ने उद्देश्यले जलाएको जस्तो देखिएको छ,” जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार वैदवारले भने, ‘‘यद्यपी अनुसन्धान पूरा भएपछि मात्रै सबै कुरा बाहिर आउनेछ । ’’
घटना बारे थाहा पाएर प्रहरी पुग्दा खातुनको परिवारका कोही पनि सदस्य घरमा थिएनन् । यद्यपी पीडितका ससुरा महमुद अन्सारी अस्पताल पुगेर घटनाबारे आफूलाई कुनै किसिमको जानकारी नभएको बताएका छन् ।
छिमेकीहरुले घट्नास्थलमा मट्टीतेलको गन्ध आएको र सबै जना फरार रहेकाले आगो लगाएर खातुनको हत्याको प्रयास गरिएको हुन सक्ने बताएका छन् । नजरानासित उनकी सासु बानो र जेठानी नुरजहाँको बारम्बार झगडा हुँदै आएको छिमेकीहरुको भनाई छ ।
नजराना खातुनकोे ९० प्रतिशत शरीर जलेको चिकित्सकले बताएका छन् । सगरमाथा अञ्चल अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको डिएसपी बैदबारले बताए ।
नजरानाकी सासु बानो र जेठानी नुरजहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ ।
श्रवणकुमार देव, सप्तरी
