समाचारशनिबार, फाल्गुण २४, २०७०
वेपत्ता मलेशियन विमानको खोजी जारी
शनिबार राति स्थानीय समय अनुसार १२ः४० मा मलेशियाको क्वालालम्पुरबाट चीनको बेइजिङतर्फ उडेको मलेशियन एयरलाइन्सको बोइङ ७७७–२०० इआर विमान फेला पर्न सकेको छैन । विमान भियतनाम नजिकको समुद्रमा खसेको अनुमान गरिएको छ ।
रोल्स रोयस ट्रेन्ट इञ्जिन भएको उक्त बोइङ कसरी वेपत्ता हुन पुग्यो भन्ने अहिलेसम्म कुनै पत्तो लागेको छैन । जहाज भियतनाम नजिक समुद्रमा खसेको भियतनामका सैनिक अधिकारीले अनुमान गरे पनि १७ घण्टा पछिसम्म पनि समुद्रमा विमानको कुनै निशान भेटिएको छैन ।
विभिन्न देशका थुप्रै विमान र समुद्री जहाजहरु विमानले अन्तिम समय सम्पर्क गरेको स्थान र अनुमानित दुर्घटनास्थलतर्फ खोजीका लागि खटिएको रोयटर्सले जनाएको छ ।
“खोजी र उद्दारको प्रयास जारी नै छ,” मलेशियाका प्रधानमन्त्री नजिव रजाकले भनेका छन्, “१५ वटा सैनिक विमान, नौसेनाका ६ वटा जहाज र तीनवटा कोस्ट गार्ड भेसल मलेशियाबाट अनुमानित घटनास्थलमा खटाइएको छ ।”
भियतनामले पनि दुई वटा नौसैनिक डुंगा, दुईवटा जेट र एउटा हेलिकप्टर खोजी कार्यमा लगाएको छ भने थप विमान र डुंगाहरु तयारी अवस्थामा राखिएको जनाएको छ ।
चीन र फिलिपिन्सले पनि त्यसतर्फ पानी जहाज पठाएका छन् । अमेरिका, फिलिपिन्स, सिंगापुरले पनि सैनिक विमानहरु सहयोगका लागि खटाएका छन् ।
भियतनामको सरकारी सञ्चार माध्यमले सैनिक अधिकारीलाई उद्धृत गर्दै विमान समुद्रमा खसेको बताए पनि मलेशियाका यातायात मन्त्रीले कसैले पनि प्लेन खसेको देखेको पुष्टि नभएको बताएका छन् ।
विमानमा १५२ चिनियाँ, ३८ मलेशियाली, ७ इन्डोनेशियाली, ६ अष्ट्रेलियाली, ५ भारतीय, ४ फ्रान्सेली र ३ अमेरिकीसहित १४ देशका नागरिक भएको एयरलाइन्सले जानकारी दिएको छ ।

