समाचारआइतबार, फाल्गुण २५, २०७०

जिउँदै जलाइएकी गर्भवती नजरानाको मृत्यु

हिमालखबर

सप्तरीको राजविराज नगरपालिका–७ निवासी गुडु अन्सारीकी श्रीमती अन्दाजी २६ वर्षीया नजराना खातुनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

आफ्नै घरमा सुतिरहेका बेला २४ फागुन दिउँसो २ बजेतिर शरीरमा आगो लागेर चिच्याउन थालेको आवाज सुनेका स्थानीय जनताले नजराना खातुनलाई उद्धार गरेर उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गराएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको र त्यहीँ उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

आगोबाट उनको करिब ९० प्रतिशत शरीरको भाग जलेको थियो । हत्या गरिएको ठानिएकी नजराना पाँच महिनाकी गर्भवती थिइन् । नजरानाको मृत्युपछि उनकी दुई वर्षीया छोरी रौनक खातुन टुहुरी भएकी छिन् ।

अत्यन्तै मिलनसार र गर्भवती अवस्थाकी नजरानाको मृत्युको खबर पाउनासाथ स्थानीय जनता शोकमा डुबेका छन् ।

नजरानाको छिमेकीसँग राम्रो सम्बन्ध थियो, स्थानीय रैहाना खातुनले भनिन्, “के कति कारणले उनको हत्या गरियो, हामीलाई थाहा छैन, तर जुन किसिमको घटना भयो त्यो घटना दुःखदायी छ ।”

नजरानाका श्रीमान् गुडु अन्सारी करिब १५ दिनअघिमात्र वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका छन् । नजरानाको घटना रहस्यमय रहेकाले आवश्यक छानबिनका लागि नजरानाकी सासू बानो खातुन र जेठानी नुरजाहा खातुनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बैदवारले बताए ।

प्रारम्भिक चरणमा नजरानाका सासूको घटनामा संलग्नता रहेको पाइएको र घटनास्थलदेखि करिब ५० मिटरको दूरीमा रहेको पोखरीको डिलमा मट्टीतेलको भाँडो बरामद भएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बैदवारले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>