थप समाचारआइतबार, फाल्गुण २५, २०७०
परिवर्तनका संवाहक सम्मानित
१०४ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मुस्ताङकी माया विष्टलाई उत्कृष्ट महिला परिवर्तनका संवाहक र लमजुङका खेम गुरुङलाई उत्कृष्ट पुरुष परिवर्तनका संवाहक सम्मान दिइएको हो । डब्लुडब्लुएफ, केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ र राष्ट्रिय प्रकृति संरक्षण कोषले संयुक्त रुपमा छनौट गरेका १६ मध्ये विष्ट र गुरुङलाई उत्कृष्ट घोषित गरिएको आयोजकले जानकारी दिएको छ ।
विष्टलाई जलवायु परिवर्तनको विषयमा जनचेतना जगाउने र समूह गठन गरेर संरक्षणमा लागेकाले सम्मान गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार सानैदेखि सामाजिक क्षेत्रमा लागेका गुरुङ हरेक क्षेत्रमा महिलाको अनिवार्य उपस्थितिमा योगदान गरिएकाले छनौटमा परेका हुन ।
यस्तै संरक्षण कार्यमा अदम्य साहस र समर्पण देखाए वापत सुर्खेतकी चन्द्रा बुढा र वन संरक्षणको क्रममा बाघको आक्रमणबाट एउटा आँखा गुमाएका र्बिर्दयाका भदै थारुलाई संरक्षण नायक सम्मान प्रदान गरिएको छ ।
सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय महिला आयोगकी सदस्य मोहना अन्सारीले अवार्ड वितरण गरेकी थिइन । कार्यक्रममा प्रमुख अतिथि अन्सारी, वन विभागका निर्देशक विश्वनाथ ओली, डब्लुडब्लुएफ इन्टरनेसनलकी अध्यक्ष योलन्डा काकावाड्से, सामुदायिक वन महासंघकी अध्यक्ष अप्सरा चापागाई, केयर नेपालकी एसिस्टेन्ट कन्ट्री डाइरेक्टर क्याथी रिलेय, प्रकृती संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेल र युएसएड नेपालकी मिसन डाइरेक्टर वेथ डनफोडले मन्तब्य व्यक्त गरेका थिए । डब्लुडब्लुएफ नेपालका संरक्षण कार्यक्रम निर्देशक घनश्याम गुरुङले समापन गरेको कार्यक्रममा हरियो वनका सन्देशसिंह हमालले स्वागत मन्तब्य राखेका थिए ।
तनहुँ, बन्दीपुरकी रनमाया रानाको सफल जीवनमा आधारित ‘उनी परिवर्तन हुन’ शीर्षकको वृत्तचित्र सार्वजनिक गरिएको कार्यक्रममा ‘प्रकृतिका सारथी’ शीर्षकको संरक्षणमा महिलाको भूमिका सम्बन्धी नाटक मञ्चन गरिएको थियो ।
सन् २०१३ मा महिला परिवर्तन संवाहक सम्मान मकवानपुरकी दुर्गा गोले र गोरखाका एकबहादुर बुढाथोकी मगरले पाएका थिए ।
