समाचारसोमबार, फाल्गुण २६, २०७०
नियमावलीका विषयमा काँग्रेस एमालेबीच सहमति जुटेन
संविधानसभा नियमावली तयार गर्ने क्रममा सहमतिमा पुग्न नसकेको विषयहरूमा सझदारी बनाउन दुवै पार्टीका नेताबीच आज एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफल दुवै दलको आ–आफ्नो अडान यथावत रहेपछि निष्कर्षमा पुग्न नसकेको हो । संविधानसभा नियमावली निर्माण समितिमा जुन विषयहरूमा विवाद थियो तिनै विषयमा समझदारी गर्न सकिन्छ कि भनेर छलफल गरे पनि आ–आफ्नो अडान यथावत रहेको कारण सहमतिमा पुग्न नसेको एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री वामदेव गौतमले बताए ।
“नेपाली काँग्रेसले राष्ट्रपतिले प्रमाणीकरण गर्ने भन्ने अडान राखेको छ, हामीले राष्ट्रपतिले प्रमाणीकरण गर्ने होइन, प्रमाणीकरण गर्ने र प्रमाणित गर्ने सबै संविधानसभाले हो भन्यौ” उपाध्यक्ष गौतमले भने । उनले संविधानसभाले संविधान लेख्ने तयार गर्ने अनि प्रमाणीकरण गर्न अर्को ठाउँ जानुहुन्न भन्ने एमालेको धारणा रहेको बताउँदै त्यसमा कुरा नमिलेको उल्लेख गरे । नेताहरूले भोलि पुनः बसेर छलफल गर्ने र समझदारी बनाउने बताएका छन् । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतिका लागि प्रयास भैरहेको बताए ।
संविधानसभा नियमावली तयार गर्न गठित ४९ सदस्यीय समितिमा संविधानसभामा ह्विप लगाउने वा नलगाउने, संविधानसभाभित्र दबाबमूलक समूह (ककस) राख्ने नराख्ने तथा
संविधान तयार भएपछि कसले प्रमाणित गर्ने र प्रमाणीकरण गर्ने भन्ने विषयमा विवाद देखिएको छ ।
खासगरी संविधानसभा अध्यक्ष र राष्ट्रपति कसले संविधान प्रमाणित र प्रमाणीकरण गर्ने भन्ने विषयमा काँग्रेस र एमालेबीच प्रमुख मतभेद् रहेको छ । काँग्रेस राष्ट्रपतिले प्रमाणीकरण गर्ने पक्षमा छ । एमालेले भने प्रमाणित र प्रमाणीकरण दुवै संविधानसभा अध्यक्षले गर्नुपर्ने पक्षमा छ । नियमावली समितिको म्याद यही फागुन २७ सम्म रहेको छ ।
छलफलमा काँग्रेसका तर्फबाट उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं कानुनमन्त्री नरहरि आचार्य, केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, रमेश लेखक र जीवन परियार हुनुहुन्थ्यो भने एमालेका तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष गौतम, सचिव विष्णु पौडेल, नेताहरू भीम रावल र अग्नि खरेल सहभागी थिए ।रासस
