समाचारमंगलबार, फाल्गुण २७, २०७०
दाङमा जिप दुर्घटना, एकै गाउँका ७ जनाको मृत्यु
दाङको तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा ११ च ११०८ नम्बरको जिप २६ फागुन राति दुर्घटना भएको हो । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–अमेलिया सडकखण्डको धोतिफाल्ने डाँडाबाट जिप करिब पाँच सय फिट तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी फुलबारी–६ बखरियाका सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ वर्षीय शंकर चौधरी, २० वर्षीय गणेश केसी, २० वर्षीय खड्गबहादुर डाँगी, ३५ वर्षीय रवि गिरी, २२ वर्षीय प्रविण खड्का, २७ वर्षीय मधु योगी र २८ वर्षीय पूर्णबहादुर ओली रहेको दाङका प्रहरी प्रमुख एसपी शरदकुमार खत्रिले जानकारी दिए । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा चालक सहित ६ जना गम्भीर घाइते भएका छन् । फुलबारी–६ घर भएका सशस्त्र प्रहरी मिनबहादुर बस्नेत, माधव रेग्मी, तेजबहादुर गिरी, डिल्ली पुरी, भागवत बस्नेत र विशाल परियार घाइते रहेका छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनापछि चालकले अमेलिया प्रहरी चौकीमा पुगेर जानकारी दिएपछि घटनाबारे २७ फागुन बिहान मात्र थाहा भएको हो । गाडी अनियन्त्रित भएर दुर्घटना भएको चालकले बताएको ट्राफिक प्रहरी प्रमुख सागर बोहराले जानकारी दिए ।
एकै गाउँका सात जनाको मृत्यु भएपछि अहिले बखरिया शोकमा डुबेको छ ।
देविका घर्ती मगर, दाङ
