समाचारबुधबार, फाल्गुण २८, २०७०
द्वन्द्वकालीन बम विस्फोट हुँदा दुई बालक घाइते
माझथर मावि स्वाँराका विद्यार्थीहरु विद्यालय छुट्टीपछि वनमा दाउरा खोज्न जाने क्रममा वनमा ‘नयाँ वस्तु’ फेला पारेका थिए । उक्त वस्तुलाई उत्सुकतावस आगोमा पोल्ने क्रममा विस्फोट भएपछि बालकहरू घाइते भएका हुन् ।
एउटा वस्तु आगोमा पड्किएपछि अर्को वस्तु पनि आगोनजिकै लाने क्रममा हातमा नै पड्किएको बालकलाई उद्धृत गर्दै स्थानीय सन्तबहादुर बरामले बताए ।
घाइते हुनेहरूमा १२ वर्षीय सचिन वराम र ११ वर्षीय ज्ञानबहादुर बराम रहेका छन् । सचिन र ज्ञानबहादुर माझथर माविमा कक्षा ५ र ४ मा अध्ययनरत छन । सचिनको हत्केला र आँखानजिकै चोट लागेको छ भने अर्का घाइतेको दाँहिने घुँडामा चोट लागेको छ ।
घाइते दुवैलाई गोरखा अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौको वीर अस्पताल रिफर गरिएको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको वीर अस्पताल स्रोतले जानकारी दिएको छ ।
बेवारिसे वस्तु कहाँबाट आयो भन्ने अझै पत्ता लाग्न सकेको छैन । घटनास्थलमा सुरक्षा निकायले अनुसन्धान थालनी गरेको जनाएको छ । उक्त बम द्वन्द्वका क्रममा कसैले लुकाएर राखेको हुन सक्ने आशङ्का गरिएको छ ।
सो क्षेत्रमा अझै ठूलो मात्रामा विस्फोटक पदार्थ रहेको हुनसक्ने प्रहरीको भनाई छ ।
रासस
