थप समाचारबुधबार, फाल्गुण २८, २०७०

हतियारको ‘हब’ बन्दै विराटनगर

हिमालखबर

-कमल रिमाल, विराटनगर

१३ फागुनमा नेपाल आउँदै गरेको ‘बीआर १० आर ९५५१’ को भारतीय कारबाट ६ भारतीयलाई पाँच थान मेड इन युएसए लेखिएका पेस्तोल, ९ म्याग्जिन र ५८ गोली सहित सादा पोशाकका प्रहरीले विराटनगर–१४ मा पक्राउ गरे।

हतियार सहित पक्राउ परेका प्रमोदकुमार राम, उनको साथबाट बरामद हतियार । तस्वीरहरुः कमल रिमाल

लागूऔषध बोकेको हुनसक्ने आशंकामा खानतलास गर्दा पक्राउ परेका उनीहरूमध्ये भारत बिहार भागलपुर जिल्ला बरारी थानाका प्रमोदकुमार ताँती र फन्टुस ताँती हतियार कारोबार गर्दा भारतमा पक्राउ परेर छुटेका व्यक्ति भएको मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेल बताउँछन्। उनीहरूसँग भारतकै मुरलीधर दास, विकासकुमार पासवान, नितेशकुमार यादव र सुबोध पासवान पनि पक्राउ परेका थिए।

विराटनगर–२० दरहियाबाट १४ माघमा मेड इन युएसए र चाइना लेखिएका दुई वटा पेस्तोल, दुई म्याग्जिन र पाँच गोली सहित सुनसरी हाँसपोसा–२ का टंकराज राई (१७) पक्राउ परे।

विराटनगर–१७ मलाया रोड नजिकैबाट ४ माघमा भारत जोगवनीका प्रमोदकुमार राम (२०) मेड इन युएसए लेखिएको एक पेस्तोल, चार म्याग्जिन र ११ राउन्ड गोली सहित पक्राउ परे। विराटनगर २१ स्थित सीमावर्ती क्षेत्रबाट २१ पुसमा भारत जोगवनीका दलबल तिवारी, राजीवकुमार झा र कलकत्ता घर भई विराटनगर–७ बस्ने अभिजित चौधरी मेड इन युएसए लेखिएको दुई पेस्तोल, चार म्याग्जिन र २० गोली सहित पक्राउ परेका थिए।

विराटनगर–१४ बाट १५ असोजमा सुनसरी साहेबगञ्ज–५ का अर्जुन साह र भारत अररिया पथरदेवा–२ का अब्दुल कादिरलाई मेड इन युएसए र चाइना लेखिएको दुई पेस्तोल, दुई म्याग्जिन र पाँच गोली सहित प्रहरीले पक्राउ गरेको थियो। प्रहरीका अनुसार, पछिल्लो समय पक्राउ परेका अधिकांश हतियार कारोबारीका भरिया हुन्। विराटनगरहुँदै ती हतियार देशका विभिन्न शहरमा पुर्‍याउने योजना अनुसार भारतबाट ल्याइएको पनि प्रहरीको भनाइ छ।

पठाउने अज्ञात

विराटनगरमा पक्राउ परेका प्रमोदकुमार ताँतीले हतियार आफ्नै भएको दाबी गरे पनि पक्राउ परेका अरूले नचिनेको मानिसले बन्दूक पठाएको बताएका छन्। पक्राउ परेका सुनसरीका राईले नेपाल–भारत सिमानामा लागूऔषधको सुई लगाएर मातेको वेला नचिनेको मानिसले पेस्तोल थमाएको बयान दिएको प्रहरी बताउँछ। उनलाई पक्राउ गर्दा भारतीय जस्ता देखिने दुई युवा भारततर्फ भागेको देखिएको प्रहरीको भनाइ छ।

प्रहरीले निकैबेर लखेटेपछि पक्राउ परेका जोगवनीका प्रमोदकुमार रामले पनि आफूलाई हतियार दिनेहरू भागेको र लिन आउनुपर्ने व्यक्तिबारे थाहा नभएको प्रहरीलाई बताएका छन्। प्रहरी उपरीक्षक पोखरेल प्रमोदकुमारलाई पक्राउ गर्ने क्रममा चामल उद्योगभित्र छिरेका एक जना उम्किन सफल भएको बताउँछन्।

जोगवनीका दलबल तिवारी चाहिं हतियार मुद्दामा मोरङ कारागार बसिसकेका हुन्। उनले प्रहरीलाई आफैं हतियार कारोबारी भएको र पेस्तोल बिक्री गर्न आएको बताएका छन्। पक्राउ परेका अर्का भारतीय अब्दुल कादिरले भारु १० हजारमा पेस्तोल किनेर रु.३० हजारमा बिक्री गर्न ल्याएको बताएका छन्। दुवैले हतियार बिक्रेता र क्रेताबारे जानकारी दिएका छैनन्।

अब्दुलले सुनसरीका अर्जुनकुमार साहलाई हतियार बिक्री गरेको वेला पक्राउ गरेको प्रहरीको भनाइ छ। एसपी पोखरेलका अनुसार, भारतको फारबिसगंजबाट जोगवनीसम्म एउटा समूहले ल्याउने, जोगवनीबाट विराटनगरसम्म अर्काे समूहले र विराटनगरबाट दुहबीसम्म तेस्रो समूहले पुर्‍याउने गरेको बताउँछन्। इटहरीबाट देशका विभिन्न भागमा हतियार पठाउने गरिएको उनको भनाइ छ।

असूलीमा प्रयोग

त्यसरी आएका हतियार धम्क्याएर असूली गर्ने गिरोहले प्रयोग गर्ने गरेको मोरङ प्रहरीका नायब उपरीक्षक दीपक पोखरेलको निष्कर्ष छ। विराटनगर र इटहरी आउने हतियार पूर्वी पहाड र राजधानीसम्म पुग्ने गरेको बताउँदै उनी हतियार, सुन, लागूऔषध र महिलाको तस्करीमा संलग्नहरूले संकेत दिएर भरियालाई पठाउने गरेको उनी बताउँछन्।

गत ११ असोजमा मोरङ कटहरीको युनिभर्सल पेट्रोल पम्पमा नकाब लगाएका दुई व्यक्तिले पेस्तोल देखाएर लुटपाट गर्न खोज्दा पैसा फेला नपरेपछि पम्पका कर्मचारीलाई कुटपिट गरेर चित्त बुझाएका थिए। उर्लाबारीमा दिलीप सिन्धेले संचालन गरेको गहना पसलमा २१ असारमा रु.२ लाख ७० हजार बराबरको गहना लुट्ने धरान–१७ का मनकुमार राई र मच्छिन्द्र राई १५ असोजमा धरानबाट पक्राउ परेका थिए। सो लूटपाटका योजनाकार संजोक सन्जुहाङ सुनसरी प्रहरीले पहिल्यै पक्राउ गरेका व्यक्ति हुन्। सो समूहले त्यसरी नै लूटका एक दर्जन घटना गराएको प्रहरीको भनाइ छ।

गत २९ कात्तिकमा विराटनगरमा भएको सुरक्षा भेलामा पूर्वाञ्चलका १६ वटै जिल्लाका प्रहरी प्रमुखहरूले साना हतियारको नियन्त्रण गर्नु ठूलो चुनौती भएको निष्कर्ष निकालेका थिए। गृह मन्त्री, सचिव, नेपाल प्रहरी र सशस्त्रका प्रमुख उपस्थित सो बैठकपछि प्रहरीले साना हतियार नियन्त्रणमा तदारुकता देखाएको छ। मोरङमा आर्थिक वर्ष २०६९/७० मा हातहतियारका १४ वटा र पूर्वाञ्चलमा ७० वटा मुद्दा चलेको तथा १०७ जना पक्राउ परेको प्रहरीको तथ्याङ्क छ। चालु वर्षको पुससम्ममा पूर्वाञ्चलमा ३१ वटा हतियार मुद्दा चलेका, ३२ वटा हतियार र ४५ जना व्यक्ति पक्राउ परेको प्रहरी बताउँछ।

बरामद हतियारमा मेड इन युएसए र चाइना लेखिए पनि भारतमा बनेका देखिन्छन्। पूर्वाञ्चलका डीआईजी नवराज सिलवाल भारतमा ठूला व्यापारीले हतियार उत्पादन गर्ने गरेको र ती हतियारमा विभिन्न देशका नाम लेखिने गरेको बताउँछन्।

१२ मे २०१३ मा प्रकाशित भारतीय पत्रिका हिन्दुस्तान का अनुसार, असम र त्रिपुरा आएका हतियार बिहारका पटना, मुंगेर, शेखपुरा, नालन्दामा प्रहरीले छापा मारेर जफत गरेको थियो। नेपालमा प्रायः बिहारबाटै हतियार आउने गरेको देखिन्छ।

गोली प्रयोग बढ्दो

पूर्वको हिमाली जिल्ला सोलुखुम्बुको चौंरीखर्क–५ मा रहेको स्टार होटलका संचालक ग्याल्जेन शेर्पालाई १९ माघ राति लुटेरा समूहले गोली हानी हत्या गर्‍यो। सो घटनामा प्रयोग भएको गोली नेपालमा निर्मित ७.६२ बोरको कटुवा पेस्तोलको भएको सोलुका प्रहरी नायव उपरीक्षक बद्रीविक्रम थापा बताउँछन्।

शेर्पाका हत्यारामध्ये निमाडेण्डी शेर्पा, शरणकुमार राई र अनिल राई १२ फागुनमा पक्राउ परे। २०६४ मा भूमिगत किरात वर्कर्सका कार्यकर्ता पक्राउ परेपछि सोलुमा पहिलो पटक हतियार प्रयोग भएको प्रहरी बताउँछ। उता, ताप्लेजुङको खेजेनिम–५ मा १५ माघ राति नकाबधारी समूहले तेजबहादुर कार्कीलाई तिघ्रामा गोली प्रहार गरी गम्भीर घाइते बनायो। उक्त घटनामा प्रयोग भएको गोली चाइनिज पेस्तोलको भएको ताप्लेजुङका नायब प्रहरी उपरीक्षक मेघराज कँडेल बताउँछन्।

९ पुसमा इटहरीको सुन पसलमा गोली चलाएर लुट्न असफल भएको समूहले मोरङको सुन्दरपुर–६ मा मानबहादुर तामाङलाई गोली प्रहार गर्‍यो। अस्पताल लैजाँदै गर्दा तामाङको मृत्यु भयो। गोली प्रहार गर्ने समूह अझै फरार भए पनि इटहरीमा र तामाङलाई प्रहार गरिएको गोली एउटै पेस्तोलबाट निस्किएको प्रमाणित भएको मोरङका एसपी पोखरेल बताउँछन्।

————————————————————————————————————————————————–

नवराज सिलवाल डीआईजी, पूर्वाञ्चल प्रहरी प्रमुख

‘काठमाडौंसम्म पुग्छ’

विराटनगरबाट काठमाडौं, पोखरा र पहाडका विभिन्न जिल्लामा हतियार जाने गरेको छ। विराटनगरमा रु.२०, रु.३० हजारमा किनेर काठमाडौंमा रु.५० हजारमा बिक्री गर्छन्। ती हतियार अपहरण, असूली, सामाजिक अपराध, वेश्यावृत्ति गराउनेहरूले प्रयोग गर्ने गरेका छन्। एउटा आपराधिक समूहबाट छुटेकाले हतियारको भरमा अर्को गिरोह बनाउँछ। उद्योगी, व्यापारीसँग चन्दा माग्न जाँदा ज्याकेटमा लुकाइएको हतियार देखाएर तर्साउने गरेका छन्।

निर्वाचनअघि वैद्य माओवादीले हतियार भित्र्याउला भनेर भारतसँग जोडिएको पूर्वाञ्चलको ४३९ किलोमिटर क्षेत्रमा ३७ ठाउँमा अस्थायी सुरक्षा पोष्ट थप गरिएको थियो। अहिले हतियारको कारोबार नियन्त्रण गर्न स्पेशल टास्क फोर्स बनाइएको छ। जसले अपराधीहरूको निगरानी र खोजी गरिरहेको छ।

भारतको उत्तरप्रदेश र बिहारमा उत्पादित हतियार नेपाल ल्याउनेहरू नेपालमा अपराध गरेर उता लुकेकाहरू बढी छन्। हतियार नियन्त्रण गर्न भारतीय समकक्षीसँग पनि छलफल गरेका छौं। तर खुला सीमाका कारण नून, दाल, चिनीमा हतियार लुकाएर ल्याइन्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>