समाचारबिहीबार, फाल्गुण २९, २०७०
स्थानीय निर्वाचनको विरोधमा दुवै माओवादी (विज्ञप्तिसहित)
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा नयाँ संविधान जारी हुनु अघि स्थानीय निर्वाचन गर्नु संविधान विपरित हुने दाबी गर्दै निर्वाचन नगर्न आग्रह गरिएको छ ।
“संघीय संविधान नबन्दै संक्रमणकालीन संरचनाबारे निर्वाचन गर्न खोज्नुले नयाँ संघीय संविधान निर्माण नगरिने त होइन, भन्ने गम्भीर प्रश्न उठ्नुका साथै अन्तरिम संविधान २०६३ को धारा १३८ विपरितसमेत हुने भएकोले नयाँ संविधान निर्माणलाई प्राथमिकता दिई सो नहुँदासम्म स्थानीय निर्वाचन नगरियोस भनी हामी सम्बद्ध सबैपक्षसँग जोडदार आग्रह गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ, “उपरोक्त विषहरुलाई गम्भीरतापूर्वक लिई समग्रमा सम्बोधन नगरिएमा संयुक्त आन्दोलनमा जानुपर्ने परिस्थिति पैदा हुन सक्छ ।”
‘जनयुद्धकालीन मुद्दा नब्युँताऊ’
त्यस्तै एमाओवादी र नेकपा माओवादीले सशस्त्र हिंसाका बेलाका मुद्दाहरु ब्युँझई आफ्ना नेता कार्यकर्ताहरुलाई धरपकड गर्ने काम भइरहेको भन्दै आपत्ति प्रकट गरेका छन् ।
विज्ञप्तिमा विस्तृत शान्ति सम्झौता अनुसार सत्य निरुपण तथा वेपत्ता छानविन आयोग बनाएर समस्या समाधान गरिनुपर्ने भन्दै ‘युद्धकालीन मुद्दा ब्यूँताउने कामको जोडदार विरोध एवम् भत्र्सना गर्छौ’ भनिएको छ ।

