समाचारसोमबार, चैत्र ३, २०७०
साह हत्याको छानबीन गर्न महिला आयोगको माग
राष्ट्रिय महिला आयोगले सप्तरी, त्रिकौल गाविस–५ की साहको हत्याको निष्पक्ष छानबीन गर्न माग गरेको हो । आयोगले महिला अधिकारीकर्मीमाथि गरिएको वीभत्स हत्याको चाँडो छानबीन गर्न भनेको छ ।
तत्कालै छानबीन गरी दोषीमाथि कडा कारबाही गर्न आयोगले सरकारसँग माग गरेको छ । आयोगले महिला अधिकारकर्मी साहको हत्याको वीभत्स रुपमा गरिएको हत्याको भत्र्सना समेत गरेको छ ।
आफ्नै घरमा सुतिरहेकी त्रिकौल गाविस ५– की ३८ वर्षीया साहको १ चैत राति छुरा प्रहार गरी हत्या भएको थियो । मृतकका पति जयलालको पनि चार बर्षअघि अज्ञात समूहबाट हत्या भएको थियो ।
यसअघि २४ फागुनमा सप्तरीकै नजराना खातुनको जिउँदै जलाएर हत्या भएकोे थियो । कुरीतिजन्य हिंसा अन्तर्राष्ट्रिय संजाल तथा एकल महिला समूह सप्तरीकी सदस्य साहको घरमा एक्लै सुतिरहेका बेला हत्या भएको हो ।
तीन सन्तानमध्ये दुई छोरीको विवाह भइसकेको र छोरा कामको सिलसिलामा बाहिर गएको अवस्थामा छिमेकीहरुले उनलाई २ चैत विहान मृत फेला पारेका थिए । उनको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
