समाचारमंगलबार, चैत्र ४, २०७०
शृङ्खलाबद्धरुपमा महिलाको हत्या
तराईबासीले होली मनाइरहँदा ३ चैतमा शरीरमा आगो लगाइएकी रामनगर मिर्चेया–३ की पुनमकुमारी साहको धरानस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।
पति बिरेन्द्र साहले मट्टी तेल छर्केर आगो लगाउँदा २५ बर्षीया पुनमको अधिकांस भाग जलेको प्रहरीको भनाई छ । यद्यपी मृतकका पति बिरेन्द्रले आफैं शरीरमा आगो लगाएपछि बचाउन गएको बताएका छन् ।
घट्नास्थलबाट मट्टी तेल र सलाई बरामद भएको र पति बिरेन्द्र समेत घाइते अवस्थामा फेला परेका छन् । बायाँ हात जलेका बिरेन्द्रको कर्जन्हा अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ ।
घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तत्कालै हत्या अथवा आत्महत्या भन्न सक्ने अवस्था छैन् ।
पूनमको मृत्युअघि १, चैतमा सप्तरी त्रिकौल गाविस ५ की निर्मला साह स्वर्णकारको छुरा प्रहार गरी हत्या भएको थियो । ३५ बर्षीया स्वर्णकारको घरमा कोहि नभएको बेला हत्या भएको हो । उनी कुरीतिजन्य हिंसा अन्तर्राष्ट्रिय संजालकी तथा एकल महिला समूहकी सप्तरी सदस्य हुन् ।
त्यस्तै यसअघि अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा २४ फागुनमा सदरमुकाम राजविराज–७ की २५ बर्षीया नजराना खातुनको उनकै सासू बानो र जेठानी नुरजहाँले शरीरमा आगो लगाएर हत्या गरेका थिए । प्रहरीले बानो र नुरजहाँलाई नियन्त्रणमा लिइसकेको छ ।
श्रवणकुमार देव, राजविराज

