समाचारबुधबार, भाद्र ६, २०६९
कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार आवश्यकः कोइराला
कांग्रेस इलाम नगर अधिवेशनलाई ६ भदौमा सम्बोधन गर्दै कोइरालाले एनेकपा माओवादीको हठका कारण सत्ता सन्चालनमा सहमति नभएपछि मुलुककै भाग्य र भविश्य निर्माण गर्ने संविधानमाथि अन्योल छाएको बताए । सहमतिको राष्ट्रिय सरकारमा अरुको नेतृत्वमा सरकार हुँदा केही विषयमा सहमति हुन नसक्ने दाबी गर्दै सभापति कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिएका हुन् ।
वर्तमान सहमतिको मुख्य बाधक भनेको माओवादी भएको बताउँदै सहमति गर्दै जाने र कार्यान्वयन नगर्ने माओवादीले अहिले सहमति नै नचाहेको कोइरालाको आरोप थियो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले आफ्नो पहिचानसहितको सङ्घीयता विरोधी नभएको प्रष्ट पारे । नेता थापाले सङ्घीयतामा कुनै पनि नागरिक दोस्रो दर्जाको नहुने भन्दै सङ्घीयतासित जोडेर माओवादीले छरेको भ्रममा नपर्न कार्यकर्तालगायत सबैमा अपिलसमेत गरे ।
कांग्रेस सङ्घीयता विरोधी भएको भन्दै लिम्बुवान् र नेपाल आदिवासी जनजाति विद्यार्थीको समूहले झन्डै आधा घन्टासम्म कालो झन्डा देखाएर कार्यक्रममा विरोध जनाएका थिए ।रासस
