समाचारबुधबार, चैत्र ५, २०७०
आन्दोलन फिर्ता लेऊः आयोग
राष्ट्रिय मानवअधिकार आयोगले ५ चैतमा प्रेस विज्ञप्ति जारी गरि मूल्यवृद्धिविरुद्धको आन्दोलन र बन्दबाट सर्वसाधारण तथा परीक्षार्थीमा पर्ने नकारात्मक असरप्रति गम्भीर बनेर आन्दोलन फिर्ता लिन आन्दोलनरत विद्यार्थी संगठनलाई आग्रह गरेको छ ।
आयोगका निमित्त सचिव सुवर्ण कर्माचार्यले एसएलसी परीक्षालाई ध्यानमा राखी विद्यार्थी सङ्गठनले बन्दलगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिनुपर्ने बताए ।
उनले नेपाल आयल निगमले गरेको मूल्यवृद्धिबाट सर्वसाधारणको सहजतापूर्वक जीवनयापन गर्न पाउने अधिकारमा असर परिरहेको अवस्थामा विद्यार्थी सङ्गठनहरूबाट आयोजना गरिएको बन्दको कार्यक्रमले नागरिकहरूको थप मानव अधिकार उल्लङ्घन भई जीवन कष्टकर भएको बताए ।
आयोगले जारी गरेको विज्ञप्तिमा बन्दका क्रममा सवारी साधनहरूमाथि भएको तोडफोड तथा आगजनी र आवागमनमा अवरोध हुँदा सुरक्षित र निर्भयपूर्वक हिँडडुल गर्ने नागरिकको अधिकार हनन् भएकाले आयोगको ध्यानाकर्षण भएको उल्लेख छ ।
