थप समाचारबिहीबार, चैत्र ६, २०७०

‘गुण्डा’को रजाइँ

हिमालखबर

जिल्ला विकास समिति मोरङले ७ पुसमा खोलेको टेन्डरका क्रममा ठेकेदार धीरेन्द्र दाहाललाई धम्काउँदै रु.२० लाख मागेको आरोपमा ९ पुसमा विराटनगरका पुराना ‘दादा’ अशोक हुमागाई पक्राउ परेर २१ दिनमा छुटे। उनीसँगै धम्कीको आरोप लागेका अभिषेक गिरी भने काठमाडौंमा रहेकाले पक्राउ पर्न सकेनन्।

अभिषेक गिरी, विराटनगर ।

विराटनगरमा गुन्डागर्दी शुरू गर्ने उमेश गिरीपछिका हुमागाई उमेरले ५० नाघे पनि धन्दामा टिक्न खोजिरहेका छन् र उनलाई ‘गुरु’ मान्ने नयाँ पुस्ताका ‘दादा’ हरूले आक्रान्त बनाउन लागेका छन्, पूर्वाञ्चललाई।

मोरङ उर्लाबारीका राम राई समूहका मात्र ८ जनालाई पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको छ। गत ६ महीनामा मोरङ प्रहरीले विराटनगरका ३९ जना ‘गुन्डा’ लाई सार्वजनिक अपराध ऐन अन्तर्गत २५ दिन थुनेर छाडेको छ। राजनीतिक संरक्षण पाएका ‘गुन्डा’ हरूले व्यवसायीहरूलाई त्रसित पारेको बताउँदै प्रहरी उपरीक्षक (एसपी) विश्वराज पोखरेल भन्छन्, “कसैले उजुरी गरे जोबाट दबाब आए पनि कारबाही गर्छु।”

कट्टीबाट बन्दूक

दश वर्षअघिसम्म ग्याङ फाइट र कट्टी आतंक हुने धरान अहिले अपहरण, अवैध असुलीदेखि दिनदहाडै गोली हान्नेसम्मका ‘दादा’ हरूबाट आक्रान्त छ। गएको १४ कात्तिकमा एमाले युवा संघको धरान नगर इन्चार्ज रहेका दिवस राईले संघीय समाजवादी पार्टीका सुनसरी उपाध्यक्ष पारस काङमाङ र क्षेत्र नं १ का उपसचिव मनकुमार तामाङलाई ‘तर्साउन’ गोली चलाए। उनी विरुद्ध उजुरी पनि पर्‍यो, तर संविधानसभाको चुनावी अभियानमा एमाले उम्मेदवार कृष्णकुमार राईसँग हिंडिरहेका उनलाई प्रहरीले समात्ने आँट गरेन। धेरै दबाबपछि २२ मंसीरमा समातिएका उनलाई अदालतले प्रमाण नपुगेको भन्दै विना धरौटी छाड्न आदेश दियो।

त्यसअघि १४ भदौमा जिरो प्वाइन्टको रेस्टुरेन्टमा सशस्त्र प्रहरी निरीक्षक विजय हमालको पेस्तोल खोस्ने आविष्कार लिम्बूलाई प्रहरीले पक्रेको विरोधमा एमालेको युवा संघले दुई घन्टा चक्काजाम गरेको थियो। राजनीतिक दबाबका कारण चार दिनमै उनलाई छाड्न बाध्य भयो, प्रहरी। दिवस राई र आविष्कार लिम्बू लामो समय लागूऔषध पुनर्स्थापना केन्द्रमा बसेर कुलतबाट मुक्त भएपछि समूह बनाएर ठेक्कापट्टामा कमिसन असुल्ने धन्दामा संलग्न भएका हुन्।

नेकपा एमाले सुनसरी–१ का उम्मेदवार कृष्णकुमार राईको विजय जुलुशमा आविष्कार लिम्बू । तस्वीरः सोहन श्रेष्ठ

लागूऔषधका पूर्व प्रयोगकर्ताहरूको रिकभरिङ समूहबाट एमालेको संरक्षणमा पुगेका यी दुई युवक अहिले मिटर व्याज (सयकडा २५ प्रतिशतसम्म) असुल्ने र जुवा खेलाउनेदेखि ठेकेदार र जग्गा व्यवसायीबाट दादा भत्ता लिनेसम्ममा संलग्न रहेको प्रहरी बताउँछ। उनीहरू धरानमा छोटो समयमै फेरी–फेरी विलासी गाडी चढ्ने हैसियत बनाउनेमा पर्छन्।

एक युवकले उनीहरूबाट गत वर्ष लिएको रुपैयाँ मिटर व्याजका कारण डेढ करोड नाघेको छ। काठमाडौंको घर र तीन बिघा खेत बेचेर रु.७० लाख तिरी सक्दा पनि एक करोड तिर्न बाँकी भएको बताउँदै नाम नबताउने शर्तमा ती युवककी आमाले भनिन्, “मेरो छोराको ज्यान खतरामा छ।”

मिटर व्याजबाट पैसा कमाउनेमा ‘कैंची’ भनेर चिनिने पूर्व लागूऔषध प्रयोगकर्ता सुरज शाह पनि हुन्। दिवस राई र आविष्कार लिम्बूको समूहलाई हरेक पटक १० प्रतिशत पीसी (पर्सनल कमिसन) बुझाउनुपरेको एक जना ठेकेदारले बताए। पैसा नदिए रात–दिन मानसिक तनाव बेहोनुपर्ने उनी बताउँछन्। “प्लटिङ गर्न डोजर आएको थाहा पाउने वित्तिकै यो कसको अनुमतिले गरेको हो भन्दै गुन्डा पठाउँछन्”, नाम उल्लेख नगर्ने शर्तमा एक जना जग्गा व्यवसायी भन्छन्, “एउटालाई मनाएर पठायो अर्को आउँछ।”

धरानको गुन्डागर्दीमा पूर्व भलिबल खेलाडी थमन गुरुङले पनि आफ्नो सिक्का जमाएका छन्। पहिले दीपक मनाङेको समूहमा रहेका उनी अहिले नेपाली कांग्रेसको संरक्षणमा छन्। हाइलेक्स गाडीमा हुँइकिने उनले एक करोडभन्दा बढीको घर बनाएका छन्।

राजनीतिक संरक्षण

धरानमा कमिसनको खेल तत्कालीन माओवादीको वाईसीएलले शुरू गरेकोमा अलिपछि त्यही नै ‘दादा भत्ता’ को रूपमा ‘विकास’ भएको थियो। २०६२/६३ को आन्दोलनपछि लिम्बुवान र खम्बुवान लगायतका समूहहरू कमिसनमा पल्किए। अहिले ‘दादा भत्ता’ मा एमालेको भ्रातृ संगठन युथफोर्सको हालीमुहाली छ।

२०६७ सालको भ्यालेन्टाइन डेमा केटीलाई फूल दिएको निहुँमा तारा राई र गोकुल राईको समूह बीच झ्डप भयो। त्यसमा गोकुल राई समातिने बित्तिकै रिकभरिङ नेपालका युवाहरूले इलाका प्रहरी कार्यालय घेरेर ढुंगामुढा गरे। त्यसक्रममा प्रहरीले एक दर्जनभन्दा बढीलाई समातेर मुद्दा चलायो। त्यसपछि रिकभरिङको चलखेल कम भए पनि विभिन्न राजनीतिक दलमा प्रवेश गरेका त्यसका सदस्यहरूले धरानमा अवैध राजको बागडोर सम्हालेका छन्।

आगामी स्थानीय निकायको निर्वाचनको चर्चाले उनीहरूमाथिको राजनीतिक संरक्षणलाई अझ् मजबूत बनाएको छ। धरान नगरपालिकाको मेयरमा उठ्ने तयारीमा रहेका एमालेका धरान नगर अध्यक्ष तारा सुब्बा भने दिवस र आविष्कार आफ्ना कार्यकर्ता भए पनि गलत काममा संरक्षण नगरेको दाबी गर्छन्।

दिवस राई, धरान ।

२०६८ सालमा संखुवासभाका ठेकेदार किशोर शेर्पालाई अपहरण गरेको आरोपमा समातिएका दिवस, आविष्कार र रतन लिम्बूलाई युवासंघले राजनीतिक दबाबमा छुटाएर अविरजात्राका साथ नगरपरिक्रमा गराएको थियो। धरानका ‘दादा’ हरूको सूचीमा शाही शासनकालका मेयर मीन सुब्बाको नाम पनि छ। अहिलेका जल्दाबल्दा पार्टीहरूको संरक्षणमा रहेका धेरै ‘दादा’ हरूसँग मीन सुब्बाको जुवा खेलाउने धन्दामा सहकार्य हुने गरेको प्रहरी बताउँछ।

इटहरीको गुन्डागर्दीमा सक्रिय सूर्य काँडे (सूर्य राई) भने अहिले अपहरणको मुद्दामा जेलमा छन्। स्थानीय दुर्गा अधिकारीलाई अपहरण गरेका काँडेले २०६४ सालमा नागेश लिम्बूमाथि खुकुरी प्रहार गरेका थिए भने २०६५ मा बीपी चोकमा गोली चलाएका थिए। नेविसंघका केन्द्रीय सदस्य रहेका उनले गत दशकमा रु.१५ करोड भन्दा बढीको सम्पत्ति जोडेको अनुमान छ।

सूर्य काँडेको अनुपस्थितिमा ‘काले विकास’ भनिने इटहरीका विकास केसीले व्यापारीहरूबाट हप्ता असुलिरहेको तर, कसैले उजुरी नगरेको प्रहरी बताउँछ। १७ फागुनमा सिजन गुरुङ सहित तरहराका सात ‘गुन्डा’ समातिंदा उनीहरूलाई छुटाउन सुनसरी कांग्रेसका सभापति राजीव कोइराला दलबल लिएर इलाका प्रहरी कार्यालय धरान आएका थिए। तर, चार दिनपछि जिल्ला अदालतले धरौटीमा छाडेको छ।

उता, झापाका काँकडभिट्टा, बिर्तामोड र दमकमा गुन्डागर्दीलाई पेशा बनाउने समूहहरूबारे आफूलाई थाहा भएको राप्रपा नेपालका नेता राजेन्द्र लिङ्देन बताउँछन्। उनी आफैं २०४६ चैतमा मेची बहुमुखी क्याम्पसमा बहुदल समर्थक विद्यार्थी राम थापाको हत्या भएपछि पाँच महीना जेल परेका थिए। आफूले चाहे झापामा अझै पनि केही सय केटा जुनसुकै वेला निकाल्न सक्ने बताउँदै लिङ्देन भन्छन्, “तर, मैले राजनीतिक काममा बाहेक तिनलाई प्रयोग गरेको छैन।”

इलाका प्रहरी कार्यालय दमकमा गत ७ महीनामा ४५ वटा सार्वजनिक अपराधका मुद्दा चलाइएको रेकर्ड छ। अरू ठाउँको भन्दा झापाको फरक के छ भने, यहाँका धेरैजसो गुन्डा सुपारी तस्करीमा संलग्न व्यापारीहरूको संरक्षणमा छन्।

यो पनि पढ्नुहोस : पक्राउ नपर्ने ‘गुन्डा’

कमल रिमाल, विराटनगर, सीता मादेम्बा, धरान, गोपाल गडतौला, दमक

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>