समाचारसोमबार, चैत्र १०, २०७०
हतियार तथा गोलीगठ्ठा दिन सेनाको आग्रह
नेपाली सेनाले पूर्ण क्षमतामा सैनिक खटाउन आवश्यक पर्ने हतियार तथा गोलीगठ्ठा आपूर्तिलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको हो । नीरिक्षणका लागि १० चैतमा जंगी अड्डा पुगेका प्रधानमन्त्री सुशील कोइरालासँग प्रधानसेनापति गौरव शमशेर राणाले सेनालाई आवश्यक पर्ने हतियार तथा गोलीगठ्ठा आपूर्तिलाई निरन्तरता दिन आग्रह गरेका हुन् ।

नेपाली सेनाको कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्रीसहित मन्त्रीहरु । तस्वीर सौजन्यः सैनिक जनसम्पर्क निर्देशनालय
सैनिक जनसम्पर्क निर्देशनालयले पूर्ण क्षमतामा शान्ति सैनिक खटाउन सेनालाई हतियार तथा गोलीगठ्ठा चाहिने जनाएको छ । नेपालले शान्ति स्थापनाका लागि पाँच हजार सेना खटाउँदै आएको र त्यसका लागि यातायातका साधन, संचार उपकरण, बन्दोबस्ती उपकरण लगायतका सामग्री आवश्यक रहेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रधानसेनापतिले राणाले राज्य शक्ति प्रयोगका लागि आवश्यक पर्ने सैनिक संगठनको क्रमिक विकास गर्नुपर्ने विषयमा पनि प्रधानमन्त्रीलाई अवगत गराएका छन् । राणाले सेनाको क्षमता अभिवृद्धिका लागि गरिने खर्च रकम बजेटको रुपमा उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरेका छन् ।
जंगी अड्डा पुगेका प्रधानमन्त्रीलाई राष्ट्रिय सुरक्षा रणनीति र १० वर्षे दीर्घकालिन योजना बारेमा पनि जानकारी गराएको निर्देशनालयले जनाएको छ ।

