समाचारमंगलबार, चैत्र ११, २०७०
फिस्लिङ बस दुर्घटनामा आमाछोरी बेपत्ता
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार चितवनको फिस्लिङमा भएको बस दुर्घटनामा परी धनकुटाकी कुमारी लिम्बू र उनकी ११ महिने छोरी दीपिका बेपत्ता भएका छन् । उनीहरूको खोजी जारी रहे पनि ११ चैत बिहानसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
उनीहरू त्रिशूली नदीमा खसेको हुनसक्ने अनुमान गरिएको छ । उक्त दुर्घटनामा पाँचजनाको मृत्यु भएको थियो । मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मकवानपुर बसामाडीका सवारीचालक ४० वर्षीय राजु घिसिङ, सङ्खुवासभा खरङ्गाका ५३ वर्षीय दुर्गाबहादुर तामाङ, धनकुटाका ४६ वर्षीया नासुकी लिम्बू र मोरङ इटहरीका गाडी सहचालक गोविन्द खत्री रहेका छन् । एक महिलाको भने अझै सनाखत हुन सकेको छैन ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोक–९ फिस्लिङमा काठमाडौँबाट धनकुटाका लागि छुटेको ना४ख ५८२९ नं. को बस दुर्घटनामा परेको थियो । दुर्घटनामा अन्य १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइते १० जना उपचारपछि घर फर्किएका छन् भने नौजना अझै भरतपुर मेडिकल कलेजमा उपचाररत छन् ।
रासस
