थप समाचारबिहीबार, चैत्र १३, २०७०
उद्यमी बने द्वन्द्वपीडित महिला
-देविका घर्ती मगर, रोल्पा
माओवादी र सुरक्षाफौजको धम्की खप्न नसकेर २०५९ मा रोल्पा हवामा–१ क्वापाटलबाट सदरमुकाम लिवाङ आएकी शंकरा बुढामगर (४५) को परिवार द्वन्द्व सकिएपछि पनि गाउँ फर्केन। माओवादीले घर ध्वस्त बनाएकाले लिवाङको डेरामा जीवन गुजारा गर्दै आएको तीन छोराछोरीसहित शंकराको परिवारले लामो समय आर्थिक समस्या झेल्नुपर्यो। आफू जस्तै ११ जना द्वन्द्वपीडित मिलेर वैशाख २०७० मा ‘रोल्पाली द्वन्द्वपीडित महिला सल उद्योग’ खोलेपछि भने उनको परिवारलाई केही राहत भएको छ।
घरेलु तथा साना उद्योग कार्यालय, रोल्पाले ६० जना महिलालाई तानबाट कपडा बुन्ने ४५ दिने तालिम दिएपछि द्वन्द्वपीडित महिलालाई उद्योग खोल्ने साहस आयो। अहिले उनीहरूको उद्योगले झोला, सल, पटुका, छड्के, भाङ्ग्रा उत्पादन गर्छ।
सबैको सहयोग
रोल्पाकै फगाम–७ की द्वन्द्वपीडित मनिषा पुनमगर (२५) पनि शंकरासँगै उद्योगमा समावेश छिन्। सासू, ससुरा, श्रीमान् सहित लिवाङमा विस्थापित जीवन बिताइरहेकी मनिषा घरेलुको थोरै सहयोग र आफूहरूले उठाएको रकम मिलाएर उद्योग खोलिएको बताउँछिन्। दुई वटा काठे तान, एउटा सिलाइ मेशीन, कोका, कङ्नी, कैंची, बेबिन, टुंकी, किरेल घरेलुले सहयोगमा दिएपछि थप तीन वटा काठे तान उनीहरूले किने।
वारपिन ड्रम (धागो तान्ने मेशीन) र एउटा तान ‘डिकोस’ नामको संस्थाले सहयोग दिएको छ। उद्योगकी कोषाध्यक्ष रहेकी जुनु रोका मगर वार्षिक रु.१० हजारमा जमीन भाडामा लिएर रु.४ लाखमा उद्योगले घर बनाएको बताउँछिन्। घर बनाउन जिल्ला विकास समितिले उनीहरूलाई रु.२ लाख सहयोग दिएको थियो।
भेडाको रौं, भाँगोको रेसा र धागोले कपडा बुनिन्छ। मनिषाका अनुसार, धेरै माग भएकाले झोला उत्पादनलाई उनीहरूले प्राथमिकता दिएका छन्। बिहानदेखि साँझ्सम्ममा एक जनाले तीन वटा झोला तयार पार्न सक्ने र एउटा झोला रु.३१५ मा बिक्री हुने शंकरा बताउँछिन्। घरेलुले पाँच महीनाको अर्को तालिम दिए अरू वस्तु पनि बुन्न सकिने र उद्योग राम्ररी चलाउन सकिने उनको भनाइ छ।
द्वन्द्वका वेला रोल्पामा १ हजार ८४ जना मारिएका, ३ हजार ६८० जना विस्थापित भएका, १०३ जना बेपत्ता भएका र २२६ जना बालबालिका टुहुरा बनेको जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्यांक छ। ‘हरप्लेस’ नामक संस्थाको तथ्यांक अनुसार द्वन्द्वमा रोल्पाका ३६८ जना महिलाका पति मारिएका थिए।

