समाचारशुक्रबार, चैत्र १४, २०७०
सकियोे यसवर्षको एसएलसी
१४ चैतमा सम्पन्न एसएलसी परीक्षामा नियमिततर्फ ४ लाख १९ हजार ३५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७३३ विद्यार्थीले परीक्षा दिएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्यालले जानकारी दिएका छन् ।

यसवर्षको एसएलसी परीक्षा अन्तर्गत १४ फागुनमा अन्तिम दिनको परीक्षा दिएर फर्कंदै गरेका मकवानपुरको जनकल्याउण उमावि परीक्षा केन्द्रका परीक्षार्थीहरु । तस्वीरः सुरजकुमार भुजेल/मकवानपुर
देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको बताउँदै उपनियन्त्रक अर्यालले तराईका जिल्लामा पनि विगत वर्षभन्दा यस वर्ष परीक्षा सञ्चालनमा व्यापक सुधार आएको जिकिर गरे ।
परीक्षाका लागि देशभरका १ हजार ८३६ परीक्षा केन्द्रमा ५३ हजार ७६ जनशक्ति र सुरक्षाका लागि देशभर १८ हजार ३६० प्रहरीलाई खटाइएको थियो । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षा सञ्चालनका क्रममा जिल्ला जिल्लामा परीक्षा समितिद्वारा निष्काशनमा परेका शिक्षक तथा कर्मचारीलाई कसुरअनुसार कारबाही गरिने बताए ।
यसवर्ष कारबाहीबाट कोही उम्कन नपाउने बताउँदै उहाँले सबै जिल्लाबाट विवरण आएपछि कारबाही अगाडि बढाइने उनले जानकारी दिए ।
तराईका केही परीक्षा केन्द्रमा सुरक्षाकर्मी र परीक्षार्थीबीचको विवादका कारण बिथोलिएको परीक्षा पुनः सञ्चालन नहुने पनि उनले बताएका थिए ।
रासस
