समाचारशुक्रबार, चैत्र १४, २०७०
नेता ओली शनिबार डिस्चार्ज हुँदै
एमाले संसदीय दलका नेता रहेका केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएकोले १५ चैतमा डिस्चार्ज गरिने म्याक्स हस्पिटलले जनाएको छ ।
अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट निर्देशक प्रा.डा. अनन्त कुमार र नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट निर्देशक डा. डि. खुल्लरले हस्ताक्षर गरेको पत्रमा उनलाई ब्याक्टेरियाको असाधारण संक्रमणका कारण मूत्र मार्गको संक्रमण (रिकरेन्ट युटिआई), प्रोस्टेट ग्रन्थीसम्बन्धी समस्या (लोअर युरिनरी ट्रयाक्ट सिम्पटम्स), छालाको तन्तु क्षयीकरण हुने समस्या (स्किन लिजन) र ज्वरो आएको उल्लेख छ ।
ओलीको स्वास्थ्य समस्याहरु निको हुने खालको भएको जनाइएको छ । डिस्चार्ज भए पनि शिघ्र स्वास्थ्य सुधारका लागि अस्पतालको सम्पर्कमा रहनु पर्ने भएकाले नेता ओली केही दिन उनी दिल्लीमै रहने छन् ।
यसअघि १२ चैतमा दिल्ली पुगेका एमाले नेता तथा उपप्रधानमन्त्री वामदेव गौतमले ओलीलाई आवश्यक परे उपचारका लागि सिंगापुर अथवा वेलायत लैजान सकिने बताएका थिए ।
स्वास्थ्य समस्या भएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका ओली थप उपचारका लागि १८ फागुनमा दिल्ली पुगेका थिए । ७ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा प्रा.डा. अनन्त कुमार नेतृत्वको चिकित्सक टोलीले नै ओलीको मृगौला प्रत्यारोपण गरेको थियो ।
अस्पतालको पत्र

