समाचारआइतबार, चैत्र १६, २०७०
‘एघार सय उच्चपदस्थ कर्मचारीसँग ग्रिनकार्ड’
रिपोर्टर्स क्लब नेपालले १६ चैतमा आयोजित साक्षात्कारमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामति प्रशासनमा कार्यरत करिब ११ सय कर्मचारीहरुसँग विदेशको पिआर र ग्रिनकार्ड रहेको भन्दै त्यस्ता कर्मचारीहरुको नामावली संकलनको काम चलिरहेको बताएका छन् ।
उनले विदेशस्थित नेपाली दुतावास र कुटनीतिक नियोगमार्फत पीआर र ग्रिन कार्ड लिएका नेपालीहरुको नाम मगाएर त्यसबाट समेत छानविन गर्ने तयारी भईरहेको जानकारी दिए ।
उनले भने, “विदेश भ्रमणमा जाने कर्मचारीहरुलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमै कस्तो किसिमका भीषा र पासपोर्ट लिएर जान्छन चेक गरेर धेरै समयको भीषा र ग्रिनकार्ड भेटे हनुमान ढोकामा पुर्याएर कारवाही गर्छु ।”
उनले विदेशमा स्थायी बसोबासको अनुमति लिएका कर्मचारीलाई कारवाही गर्न निजामित ऐन संसोधनका लागि मन्त्रिपरिषदबाट समेत सहमति लिईसकेको बताए ।
मन्त्री पण्डितले डिभी पर्यो कि परेन, ग्रिनकार्ड कहिले आउँछ भन्ने कुरामा मात्र चिन्तित कर्मचारीले देश विकासका लागि काम गर्न नसक्ने धारणा राखे । उनले भने, ‘डिभिको सपना देख्नेले नेपाल बनाउन सक्दैन ।”
