समाचारआइतबार, भाद्र १०, २०६९
भट्टराईको एक वर्षे शासनकाल मुलुकलाई घात मात्रै गरेको एमालेले ठहर
भट्टराईले नाराअनुसार काम गर्नुको सट्टा मुलुकलाई घात मात्रै गरेको एमालेले ठहर गरेको हो । भट्टराईको एक वर्षे शासनकाल पूरा भएको अवसरमा एमाले संसदीय विभागले पत्रकार सम्मेलन गरेर १० भदौमा आफ्नो धारणा सार्वजनिक गरेको हो ।
एमालेले यो सरकारले कुनै पनि नयाँ राम्रा काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेको छ । भट्टराई सरकारले मुलुक र नागरिकमाथि घात गरेको एमालेको ठहर रहेको एमाले संसदीय विभागका सचिव रामनाथ ढकालले बताउनुभयो ।
प्रधानमन्त्रीले शान्ति, संविधान, सुशासन र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेको भन्दै आएपनि ती सबैमा असफल भएको एमालेको ठहर छ । प्रधानमन्त्रीले अध्यादेशका भरमा शासन गर्न खोज्ने, चुनाव घोषणा गरेर सत्तामा टिक्ने प्रधानमन्त्रीको योजनाका कारण मुलुक संकटमा फसेको एमालेले आरोप लगाएको छ । प्रधानमन्त्री भट्टराईको दोहोरो भूमिका र गलत कृयाकलापले मुलकु संकटग्रस्त भएको, शान्ति प्रकृया पनि लगभग तुहिने अवस्थामा पुगेको सचिव ढकालले बताए ।
