थप समाचारसोमबार, चैत्र १७, २०७०

सुदूरपश्चिममा अपराध घट्यो

हिमालखबर

सुदूरपश्चिममा माघ, फागुन र चैत महीनामा आपराधिक घटना बढी हुने गरेकोमा यो वर्ष अघिल्ला दुई महीनामा कम भएको देखिएको छ । माघ २०६८ मा सुदूरपश्चिममा १०३ र माघ २०६९ मा १११ आपराधिक घटना भएकोमा यो वर्ष ८५ मात्र भए । फागुन २०६८ मा १०० र फागुन २०६९ मा १२१ घटना भएकोमा यो वर्ष ९९ मात्र भए । सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख डीआईजी जयबहादुर चन्द तीनमहीने विशेष सुरक्षा योजना सफल कार्यान्वयन भएकाले अपराध उल्लेखनीय रूपले घटेको बताउँछन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष गणेशदत्त जोशीको भनाइमा पहिलेभन्दा प्रहरीको सक्रियता बढेकोले आपराधिक घटना कम भएको हो ।

डीआईजी जयबहादुर चन्द ।

सुदूरपश्चिमका ९ पहाडी जिल्लामा रक्सी र जुवा तथा तराईका कैलाली र कञ्चनपुरमा लागूऔषध, तस्करी र सीमा अपराधको समस्या छ । आफ्नो आचरण सुधार गर्दै ती अपराध नियन्त्रण गर्न ‘विशेष सुरक्षा योजना’ ल्याइएको प्रहरीको भनाइ छ । सुदूरपश्चिममा कार्यरत ६ हजार १०० प्रहरीलाई मदिरा सेवन गरे÷नगरेको परीक्षणमा राखेर मदिरा सेवन गर्नेलाई काउन्सिलिङ गर्ने वा सुधार गृहमा राख्ने गरिएको प्रहरी बताउँछ । पहाडमा इन्स्पेक्टर र तराईमा डीएसपीको नेतृत्वमा ‘चेकिङ टीम’ खटाइएको र त्यसको सिफारिशको आधारमा तीन जना प्रहरीलाई निलम्बन गरिएको तथा १७ जनालाई आन्तरिक कारबाही गरिएको प्रहरीको तथ्याङ्क छ ।

सीमा अपराध, लागूऔषध कारोबार र तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ‘अपि’ र कैलालीमा ‘सैपाल’ नाम दिएर परिचालन गरिएका टोलीले दुई महीनामा रु.४ करोड बराबरको चोरी–तस्करीको सामान बरामद गरेको प्रहरीको तथ्यांक छ । ‘अपि’ टीमका इन्चार्ज प्रहरी निरीक्षक ज्ञानबहादुर बिष्ट अभियानका क्रममा १८ जना फरार अपराधी पनि पक्राउ परेको बताउँछन् ।

सर्वसाधारण, राजनीतिक दलका नेता–कार्यकर्तासँग नियमित अन्तरक्रिया गर्दै सहकार्य गरिएको यो अभियानका लागि गस्ती गर्ने साइकल अभाव भएर व्यवसायीसँग माग्नु परेको डीआईजी चन्द बताउँछन् ।

बच्चु विक, महेन्द्रनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>