समाचारमंगलबार, चैत्र १८, २०७०

सभामुखले भने, ‘बैठकमा मोबाइल नचलाउनुस’

हिमालखबर

व्यवस्थापिका–संसद्को १८ चैतको बैठकमा सभामुख सुवासचन्द्र नेम्बाङले बैठक कक्षमा मोबाइल फोन प्रयोग नगर्न सांसदलाई पुनः ध्यानाकर्षण गराएका छन् ।

शून्य समय सञ्चालन भइरहेका समयमा केही सांसदले फोनमा गफिन थालेपछि सभामुखले सांसदलाई त्यसो नगर्न निर्देशन दिएका हुन् । यसअघि पनि सभामुख नेम्वाङले सांसदलाई बैठक सञ्चालन भइरहेका समयमा मोबाइल प्रयोग नगर्न ध्यानाकर्षण गराएका थिए । संसद् नियमावलीका अनुसार बैठकमा मोबाइल फोन प्रयोग गर्न पाइँदैन ।

साहबारे सरकारको ध्यानाकर्षण

व्यवस्थापिका–संसद्को बैठकमा सभामुखले सांसद सञ्जयकुमार साहका बारेमा व्यवस्थापिका–संसद्को बैठकमा प्रश्न उठेकाले यथार्थ कुरा सदनलाई जानकारी दिन सरकारको ध्यानाकर्षण गराए ।

बैठक शुरु हुनेबित्तिकै सदभावना पार्टीका तर्फबाट सभासद् लक्ष्मणलाल कर्णले सांसद साहलाई के अभियोगमा पुर्जी जारी गरिएको हो भन्नेबारे गृहमन्त्रालयसँग जवाफ मागेका थिए ।

जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको बम विष्फोटका मुख्य योजनाकार सभासद साह भएको अभियोगमा प्रहरीले साहको खोजी गरिरहेको छ । साह फरार छन् ।

ऊर्जा सङ्कटकाल घोषणा माग

त्यसैगरी बैठकको विशेष समयमा सांसद काशीनाथ अधिकारीले ऊर्जा सङ्कट समाधान गर्न ऊर्जा सङ्कटकाल घोषणा गरी विद्युत् उत्पादन, प्रसारण र लगानीमा वृद्धि गर्न माग गरे ।

सांसद कमल थापाले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न र संसद्लाई शीर्ष राजनीतिक दलको रबर स्टाम्प नबनाउन आग्रह गरे ।

सांसद दीपक बोहराले काठमाडौं उपत्यकाको वातावरणीय प्रदूषण कम गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद चित्रबहादुर केसीले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण बन्द गर्न माग गर्दै बैंकमार्फत वितरण गरिने भत्ताका लागि ज्येष्ठ नागरिकको पहुँच नपुगेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>