समाचारबिहीबार, चैत्र २०, २०७०
दोस्रो विश्वयुद्धकालीन बम विस्फोट हुँदा सातको मृत्यु
कबाडीले थर्मल पावर कटरले बम काट्न खोज्दा विष्फोट भई ७ जनाको मृत्यु भएको र १९ जना घाइते भएको थाई प्रहरीका बम स्क्वाड प्रमुखले जनाएका छन् । करिब २२५ किलोग्राम तौलको दोस्रो विश्वयुद्धकालीन बम थाइल्याण्डको बैंककस्थित भवन निर्माणस्थलमा जमिन मुनी फेला परेपछि उक्त बम निस्कृय भइसकेको ठानी कामदारहरुले कबाडीलाई बेचेका थिए ।
प्रहरीले बम युद्धकालदेखि नै छोडिएको अवस्थामा रहेको हुनसक्ने बताएको छ ।
नगरको एरावान आपत्कालीन केन्द्रले सात व्यक्तिको मृत्यु भएको र १९ घाइते भएको पुष्टि गरेको छ । केन्द्रले पाँच व्यक्तिको घटनास्थलमै मृत्यु भएको जानकारी दिएको छ ।
एक विष्फोटक विशेषज्ञले विस्फोटका कारण ठूलो खाल्टो परेको र करिब ५०० मिटर वरपरका घरहरूलाई क्षति पुगेको बताए ।
कर्णेल खामथोर्न ओइचारोनले उक्त बम ५०० पाउन्डको भएको र दोस्रो विश्वयुद्धमा आकाशबाट खसाइएको बताए ।
दोस्रो विश्वयुद्धमा दक्षिणपूर्वी एसियामा जापानी युद्धप्रयासमा सहयोग गर्दै थाइल्यान्ड सरिक हुँदा संयुक्त गठबन्धनले थाइल्यान्डको राजधानीमा पनि बम आक्रमण गरेको थियो ।
एएफपी
