समाचारशुक्रबार, चैत्र २१, २०७०

२६ वर्षपछि नयाँ विमान आउँदै

हिमालखबर

चीन सरकारले अनुदानअन्तर्गत प्रदान गर्ने दुई विमानमध्ये ‘एमए६०’ मोडलको ५६ सिट क्षमताको विमान २० चैतमा चीनको सियानमा आयोजित कार्यक्रममा नेपाली अधिकारीलाई हस्तान्तरण गरेको छ । नेपालले चीन सँग ४ वटा विमान सहुलियतपूर्ण ऋणमा र दुई वटा विमान अनुदानमा प्राप्त गर्ने सम्झौता गत १३ मंसीरमा भएको थियो ।

विमान आगामी १३ वैशाखमा काठमाडौं अवतरण गर्ने बताइएको छ । यसपछि नेपालले ‘वाई १२ ई’ मोडलको १९ सिटे विमान पनि निगमले अनुदानमा प्राप्त गर्दैछ । उक्त विमान असारसम्ममा नेपाल आइपुग्ने छ ।

चीनको सियानमा आयोजित एक समारोहमा नेपाल वायुसेवा निगमका महाप्रवन्धक मदन खरेललाई एभिक कम्पनीका उपाध्यक्ष सुबोले विमान हस्तान्तरण गरेको निगमले जानकारी दिएको छ ।

सन् १९८८ पछि निगमले पहिलो पटक नयाँ विमान प्राप्त गरेको निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए ।

हाल निगमले एउटा ट्विनअटरमार्फत आन्तरिक उडान गरिरहेको छ ।

सहुलियत ऋणमा ल्याइने ४ ओटा जहाजको ५ वर्षसम्म ब्याज तथा ऋण तिर्नु नपर्ने र छैटौ वर्षदेखि ३० वर्षसम्म किस्ता चुक्ता गर्नुपर्ने गरी औपचारिक सहमति भएको थियो ।

असोजमा थप एक विमान भित्र्याउने तयारीमा रहेको निगमले बाँकी ३ ओटा विमान भने कात्तिकसम्म प्राप्त भइसक्ने बताएको छ ।

बुझबुझारथसम्बन्धी कागजातमा नेपालका तर्फबाट महाप्रबन्धक खरेल र एभिकका उपाध्यक्ष झुले हस्ताक्षर गरेका छन् ।
अहिले चिनियाँ जहाज उडाउन प्राविधिक तालिमका लागि पाइलट, कोपाइलट र इन्जिनियरसहित १३ सदस्य चीनमै छन् ।

विमान शुरुमा केही महिना नेपालकै शहरी क्षेत्रमा र त्यसपछि नेपालसँग सीमा जोडिएका भारतका सहरहरूमा उडाउने योजना निगमको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>