समाचारशुक्रबार, चैत्र २१, २०७०
पौडेल हत्यामा ८ जनालाई सर्वश्वसहित जन्मकैद
सविता श्रेष्ठ, चितवन
भरतपुर कारागारमा रहेका बेला कैदीकै आक्रमणका कारण मारिएका शिव पौडेलको हत्याको अभियुक्त आठ जनालाई सर्वश्वसहित जन्मकैद हुने भएको हो । चितवन जिल्ला अदालतले २० चैतमा पौडेल हत्या मुद्धाको फैसला सुनाएको हो ।
अभियोग लागेका अरु ६ जनालाई पाँच वर्षको कैद सजाय भएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदमोहन आचार्यको एकल ईजलासले यस्तो फैसला सुनाएको हो ।
सर्वश्व सहित जन्मकैद हुनेमा सुनिल गुरुङ, शरण गुरुङ, सुनिल केसी, फडिन्द्र श्रेष्ठ, दिलबहादुर लामा, सुरजा श्रेष्ठ, सुजेन्द्र राई र अमिर गुरुङ रछन् । प्रकाश तामाङ, अमित लामा, बिक्रम लामा, चन्द्रबहादुर थापा, भिमकुमार पाख्रिन र राजकुमार घलानलाई पाँच बर्ष कैद सजाय सुनाईएको छ ।
२७ जना विरुद्ध अभियोग लगाईएकोमा बाँकीले भने सफाई पाएका छन् । सो मुद्धामा अभियोग लागेका २७ मध्ये १७ जनालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको थियो ।
थुनामा रहेका तीन जनाले सफाई पाएका छन् । सफाई पाउनेमा सुर्यबहादुर पुन, सानु भनिने सुजेन्द्र तामाङ, दिपक शाह छन् । कारागार बाहिर भएका १० जनाले पनि सफाई पाएका छन् ।
घटनाको योजनाकार भनी अभियोग लगाइएका प्रकाश रेग्मी, सुरजकुमार शाही, फडिन्द्र खनाल, बिनोद तामाङ, कुमार देउजा, बाबुराम भण्डारी, सुशील केसी, हितमान गुरुङ, बिष्णु पाण्डे, मितेन राईले पनि सफाई पाएका छन् ।
पौडेल संजाय लामाको हत्याको अभियोगमा भरतपुर कारागारमा रहेका थिए । तरुणदल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेललाई २० मंसीर २०६८ मा पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरुले आक्रमण गरेका थिए । आक्रमणमा गम्भिर घाईते भएका पौडेलको उपचारको क्रममा १ पुसमा काठमाडौमा मृत्यु भएको थियो ।
