समाचारशुक्रबार, चैत्र २१, २०७०
कृष्ण पहाडीले अनशन तोडे
१७ चैतबाट आमरण अनशन बसेका मानवअधिकारकर्मी कृष्ण पहाडीले स्वास्थ्य अवस्था कमजोर भएपछि २१ चैतमा अनशन तोडेका छन् । उनलाई वीर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष होमकान्त चौलागाइँले हिमालखबरलाई जानकारी दिए ।
“उहाँ (पहाडी) को स्वास्थ्य अवस्था निकै कमजोर भएपछि वीर अस्पताल ल्याएइएको थियो, चिकित्सकले स्लाइन नचढाउने हो भने उहाँको जीवन खतरामा पर्ने बताएपछि हामी सबैको आग्रहमा उहाँलाई स्लाइन दिइएको छ,” चौलागाइँले भने, “स्लाइन चढाएपछि सामान्यतया अनशन तोडेको मानिन्छ, त्यसैले अब उहाँको सत्याग्रह बाँकी नै भए पनि अनशन तोडिएको छ ।”
पहाडीको रगतमा हेमोग्लोबिनको मात्रा निकै कम भएको र मृगौलामा पनि समस्या देखिएको चिकित्सकलाई उद्धृत गर्दै चौलागाइँले बताए ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान तत्काल अनुमोदन माग गर्दै पहाडी ५ दिनदेखि राजधानीको शान्तिबाटिकामा अनशन बसेका थिए ।

