समाचारशनिबार, चैत्र २२, २०७०
सेनाका जवानद्वारा बलात्कारको प्रयास
२१ चैत साँझ खोटाङको दिक्तेलबाट मुढेस्थित घर जाने क्रममा जबरजङ्ग गण मुढे ब्यारेकका जवान उपेन्द्र बस्नेतले बलात्कारको प्रयास गरेको पीडित युवतीले आरोप लगाएकी छिन् ।
सोलुखुम्बु कांगेल–८ का बस्नेतले थामखोरे जङ्गलको बाटोमा बलात्कार प्रयास गरेको उनले बताइन् । “म घर जाँदै थिएँ, एक्कासि बाटो छेकेर लछारेर बाटोदेखि सय मिटर तलसम्म झारेर बलात्कार प्रयास गर्यो, म फुत्किएर भाग्न सफल भएँ,” उनले भनिन्, “बल्लतल्ल भागेपछि प्रहरीलाई खबर गरेँ !”
बस्नेतलाई शुक्रबार साँझै पक्राउ गरेर सेनालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार साहको टोलीले पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक साहले बस्नेतलाई बलात्कारको आरोपमा नभई लुटपाटमा संलग्न भएको भनेर सेनालाई बुझाइएको बताए । साहले भने, “सेनालाई कारबाही गर्न नमिल्ने भएकाले बुझाइएको हो, बलात्कार नभई लुटपाट गरिएको भन्ने खुलेकाले सेनालाई कारबाहीका लागि पत्रसहित बुझाइएको हो ।”
ब्यारेकका गणपति रामबहादुर थापाले सैनिक अनुशासन विपरीत लुटपाटमा संलग्न देखिएकाले सैनिक हिरासतमा राखेर अनुसन्धान बढाइएको बताउनुभयो । उनले भने, “यदि बलात्कार प्रयास नै रहेछ भने दुवै मुद्दामा कारबाही हुन्छ ।”
बस्नेतलाई सेनाको जिम्मा लगाएपछि चौतर्फी विरोध शुरु भएको छ । यसबारे महिला अधिकारवादी, मानव अधिकारकर्मीलगायत आक्रोशित बनेका छन् ।
बलात्कार प्रयासलाई सामान्य लुटपाट भनेर अपराधीलाई उन्मुक्ति दिलाउन खोजिएको भन्दै त्यसको प्रतिवाद गर्ने पीडितकी आफन्त सङ्गीता राईले बताइन् । उनले भनिन्, “एउटा विद्यार्थीलाई सेनाले किन लुट्छ ? लुटपाट गर्ने उद्देश्य नै हो भने किन जङ्गलतिर घिसार्छ ? यसमा गम्भीर भएर सोच्नुपर्छ ।”
