समाचारशनिबार, चैत्र २२, २०७०
‘गान्धी कथावाचन शुरुः सबैले सुनौं’
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको आयोजनामा काठमाडौँको भीमसेनगोलास्थित आनन्द इभेन्टमा शुरु भएको गान्धी कथावाचन कार्यक्रम आगामी २६ चैतसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।
कथावाचनको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्दै कथावाचनले मुलुकमा शान्ति स्थापना गर्न ठूलो योगदान पुग्ने बताए ।
“गान्धीलाई प्रत्यक्ष देख्न नपाए पनि उहाँको नजिकमा हुर्केका व्यक्तिबाट हुने कथावाचन अत्यन्त अनुकरणीय र मुलुकमा शान्ति स्थापना गर्न ठूलो योगदान पुग्नेछ, गान्धी शिष्य नारायण भाइबाट धेरै कुरा लिएर जीवनमा अनुकरण गर्नेछौँ भन्ने विश्वास लिएको छु,” प्रधानमन्त्री कोइरालाले भने ।
सत्य सधैँ विजय हुने र आजको विश्व अहिंसा र सत्यबाट एक हुन खोजिरहेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले थपे, “महात्मा गान्धीको बाटो अपनाए सत्यकै सधैँ विजय हुन्छ, हामी त्यही बाटोमा अघि बढेका छौँ, नेपालमा शान्ति, स्थायित्व र लोकतन्त्रको बाटोले नै सबैको कल्याण गर्छ ।”
सत्य र अहिंसा महात्मा गान्धीको प्रेरणाबाटै विपी कोइराला र गिरिजाबाबुले नेपालमा अहिंसाको बाटोमा परिवर्तनको प्रक्रिया अपनाएको पनि उनले उल्लेख गरे ।
कथावाचन मूल आयोजक समितिका संयोजक एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले गान्धीको दर्शनबारे युवा पुस्ता र नयाँ सन्ततिलाई बोध गराउने उद्देश्यले आयोजित कार्यक्रम उपयोगी हुने बताए ।
गान्धी कथावाचनका प्रमुख वाचक गान्धीका वैचारिक तथा व्यवहारगत प्रसिद्ध शिष्य एवम् गुजरात विद्यापीठका कुलपति नारायणभाइ महादेवभाइ देसार्इंले गान्धीको विचार नेपाली समाजमा प्रवाह गर्नु आफ्नो सौभाग्य हो भन्दै गान्धी कुनै एक कालखण्ड र एक देशको मात्र आदर्श व्यक्ति नभई विश्वकै साझा प्रेरणा भएको बताए ।
“गान्धीमा मुख्य व्यक्तिको चरित्र निर्माण थियो, बाल्यकालमा म गान्धीको १० वर्ष साथी थिएँ । नेता र महात्मा पुरुष मात्र हैन, गान्धीको सत्य, अहिंसा र शान्तिको आदर्श विचारलाई सबैले जीवन व्यवहारमा उतार्नु सान्दर्भिक हुन्छ,” उनले भने ।
नेपालका लागि भारतीय राजदूत रञ्जित रेले गान्धीको दर्शन र विचार आजको सन्दर्भमा उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै भने, “नेपाली विश्वविद्यालयमा गान्धी अध्ययन केन्द्र खोलिनु सकारात्मक हो । आजको परिवेशमा गान्धीको जति अध्ययन ग¥यो उति उत्प्रेरणा मिल्नेछ, त्यसैले गान्धीको प्रवचन सुनेर जीवनमा उपयोग गर्नुस् ।”
नेकपा (एमाले) का प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले गान्धीको विचार र दर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उहाँको दर्शन र जीवनशैलीलाई आत्मसाथ गरेर अघि बढ्नसके नेपालका लागि सान्दर्भिक हुनेमा जोड दिए ।
आगामी पाँच दिनसम्म हुने कथावाचनमा गान्धीका शिष्य नारायणभाइ देसाईंले दैनिक तीन घण्टा प्रवचन दिनेछन् । कथा वाचन कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, विभिन्न क्षेत्रका अगुवा व्यक्तित्व, कलेजका नयाँ पुस्ताहरुको सहभागिता रहेको छ ।
