समाचारआइतबार, चैत्र २३, २०७०
बेपत्ता विमानको ब्ल्याक बक्सबाट ‘सिग्नल’ प्राप्त!
अष्ट्रेलियाली अधिकारीहरुका अनुसार वेपत्ता विमानको खोजी कार्यमा जुटेका अष्ट्रेलियाली जहाजहरुलाई केही ‘सिग्नल’ प्राप्त भएको र त्यो हराएको विमानको ब्ल्याकबक्सको हुनसक्छ ।
खोजी अभियानको संयोजन गरिरहेका अष्ट्रेलियाका पूर्व एयर मार्शल अंगुस ह्युस्टनले आइतबार आयोजित पत्रकार सम्मेलनमा जहाजलाई केही ध्वनी संकेत प्राप्त भएको र त्यो वेपत्ता मलेशियन विमान एमएच–३७० को हुनसक्ने बताए ।
उनले भने, “खोजीमा खटिएको जहाजमा जडित अण्डरवाटर गियरले ध्वनी संकेतहरु प्राप्त गरेको छ, निश्चित नै नभए पनि त्यो वेपत्ता विमानकै ब्ल्याकबक्सबाट आएको हुनुपर्छ भन्ने हाम्रो अनुमान छ ।”
अहिले वेपत्ता विमानको खोजीमा ७ देशका १२ विमान र १३ वटा जहाज दक्षिणी हिन्दी महासागरको मध्यतर्फ पठाइएको छ ।
यसअघि चिनियाँ समाचार संस्था सिन्ह्वाले पनि ह्याक्सिम ०१ जहाजले हिन्दमहासागरमा ‘अल्ट्रसोनिक पल्स’ पत्ता लगाएको उल्लेख गरेको थियो । त्यस्तो सिग्नल ९० सेकेन्डसम्म आएको बताइएको थियो ।
हिन्द महासागरको अतिफराकिलो क्षेत्रमा पानीभित्र ब्ल्याकबक्स खोज्नु मौसम, पानीको तापमान र समूद्री आँधीले गाह्रो भइरहेको पनि ह्युस्टनले बताएका थिए ।
-विभिन्न सञ्चारमाध्यमहरु
