समाचारसोमबार, चैत्र २४, २०७०

सप्तरीमा एक महिलाको हत्या, एकलाई घर निकाला, अर्कीलाई बोक्सीका नाममा यातना

हिमालखबर

आगो लगाएर हत्या गरिएको आशंका
सप्तरीको लोहजारा गाविसमा एक महिलाको आगोले जलेर मृत्यु भएको छ । माइतीपक्षले उनको हत्या भएको दाबी गरेका छन् ।

लोहजारा–४ बस्ने मिश्रीलाल साहकी कान्छी श्रीमतिको आगोले जलेर ज्यान गएको हो । २२, चैत राति घरमा सुतिरहेकी राजकुमारी साहको शरीरमा आगो लागेको थियो । उनलाई उपचारका लागि लग्दै गर्दा ज्यान गएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।

स्थानीयका अनुसार मिश्रीलालका तीन जना पत्नीमध्ये राजकुमारी कान्छी थिइन् । ३५ बर्षीया राजकुमारीको पति, सौताहरु र परिवारका अन्य सदस्यहरुसँग बारम्बार झगडा हुँदै आएको थियो ।

प्रिवारका सदस्यहरुले नै उनको शरीरमा आगो लगाएर हत्या गरेको हुन सक्ने स्थानीयले बताएका छन् । यद्यपी प्रहरी निरीक्षक कार्कीले घटनाको अनुसन्धान भइरहेको बताए ।

बोक्सीको आरोपमा कुटपिट

नन्द र भाउजुबीच भइरहेको झगडा मिलाउन गएकी एक महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरिएको छ ।

बोक्सीको आरोप लगाई भएको कुटपिटबाट बनैनियाँ गाविस ७ की बानो मण्डल घाइते भएकी छिन् । ४० बर्षीया बानोको शरीरमा कुटपिटले निलडाम परेको छ ।
बानोकी छोरी संगीता तथा बानोकै जेठाजु हरेरामकी बुहारी रञ्जनाबीच भइरहेको झगडा छुट्टयाउन गएकी बानोलाई रञ्जनासहितकाले बोक्सी भन्दै निर्घात कुटपिट गरेका छन् ।

एक साताअघि भएको यो घटनाबारे प्रहरीलाई जानकारी गराउँदा समेत सुनुवाई नभएको पीडितको भनाई छ ।

स्वास्थ्यकर्मी महिलालाई कुटपिट गर्दै घरनिकाला

घर तथा खेतबारीको रेखदेख गर्न राखिएका कामदारसँगै अनैतिक सम्बन्ध राखेको आरोप लगाउँदै सप्तरीकी एक स्वास्थ्यकर्मी महिलालाई स्थानीयहरुले कुटपिट गर्दै घर निकाला गरेका छन् ।

जिल्लाको धर्मपुर– ८ बस्ने मेनुका दाहाललाई स्थानीयहरुले १८ चैतमा कुटपिट गर्दै घरबाट निकालेर उनको घरमा ताला लगाइदिएका छन् ।

पिप्रा पूर्व गाविसमा अनमी पदमा कार्यरत उनी स्वास्थ्य चौकीतर्फ जाने तयारी गरिरहँदा स्थानीय एक दर्जन व्यक्तिहरुले निर्घात कुटपिट गर्दै घर निकाला गरेको उनले बताएकी छिन् । मेनुकाका पति रोहिणी प्रसादको २०६८ साल चैतमा मृत्यु भइसकेको छ ।

घर तथा खेतबारी रेखदेखका लागि सोही गाउँका ५७ बर्षीय फणिन्द्र पोखरेललाई कामदारका रुपमा राखिएको र स्थानीय केहि व्यक्तिहरुले पोखरेलसँगै सल्किएकोे आरोप लगाउँदै आफ्नो चरित्र हत्या गर्न खोजेको मेनुकाको भनाई छ ।

उनीहरु मिलेर कामदार फणिन्द्रसँग सिन्दुर पोते गर्न दबाब दिएको मेनुकाले बताइन् ।

श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>