समाचारसोमबार, चैत्र २४, २०७०
संवाद समितिको सभापति चयन ३० चैतमा
समितिको २४ चैतमा बसेको बैठकले सभापतिको चयनबिना समितिका काम कारबाही, विधि र प्रक्रिया अधुरो भएको भन्दै सहमतिका आधारमा सभापति चयनका लागि ३० चैत बिहान ११ बजेको समय तोकेको छ ।
बैठकमा भाग लिने अधिकांश सदस्यले संविधानसभाले पारित गरेको कार्यतालिकासँग तालमेल हुने गरी समितिको कार्यतालिका बनाई कामलाई तीव्रता दिनुपर्ने भएकाले सभापतिको चयनका लागि निर्वाचनको मिति तोक्नुपर्ने बताएका थिए ।
समितिका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा १६ सदस्यले समितिका गतिविधि र कामकारबाहीलाई विधिप्रक्रियासम्मत ढङ्गबाट प्रभावकारी तुल्याउने र संविधान लेखनलाई तीव्रता दिने विषयमा सुझाव दिए ।
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख एवम् संसदीय दलका नेता सहभागी थिए ।
संविधानसभा मातहत रहने सबैभन्दा प्रभावशाली समितिको रुपमा रहने सो समिति ७१ सदस्यीय छ । सो समितिले राजनीतिक दलबीच मतभिन्नता रहेका संविधानका अन्र्तवस्तुमा सहमति कायम गरी सोसम्बन्धी प्रतिवेदन सभामा पेस गर्ने मुख्य जिम्मेवारी प्राप्त गरेको छ ।
समितिलाई संविधान निर्माणका लागि संविधानसभाभित्र रहेका राजनीतिक दल, सदस्य र बाहिर रहेका विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरुसँग वार्ता गरी संविधान निर्माणको काममा सबैको सहयोग जुटाउने कार्यक्षेत्रसमेत तोकिएको छ ।
