थप समाचारमंगलबार, चैत्र २५, २०७०

रुँदै रंगेली

हिमालखबर

कमल रिमाल, विराटनगर

रंगेली बजार । तस्वीर: कमल रिमाल

राष्ट्रपति डा. रामवरण यादवले मोरङको पुरानो बजार रंगेलीबाट सदरमुकाम विराटनगर सरेको सय वर्ष पुगेको अवसरमा २६ चैतमा शतवार्षिकोत्सव समारोह उद्घाटन गर्दैछन्। त्यो दिनभर विविध कार्यक्रम पछि साँझ् विराटनगरमा दिपावली हुनेछ।

उता रंगेलीवासीले त्यो दिनभर कालो दिवस र बेलुका बत्ती निभाएर विरोध कार्यक्रम गर्नेछन्। २६ चैतलाई कालो दिनको रूपमा मनाउन २०१ सदस्यीय समिति गठन गरेको रंगेली नागरिक समाजले १७ चैतको बैठकबाट विरोधका अरू कार्यक्रम ल्याएको छ।

१९७१ सालमा सदरमुकाम विराटनगर सारेर रंगेलीलाई रसातलमा पुर्‍याएको रंगेली नागरिक समाजको भनाइ छ। समाजका अध्यक्ष मंगलचन्द अग्रवाल भन्छन्, “यो चैतमा विराटनगर खुशीमा र रंगेली पीडामा डुबेको छ।”

विराटनगर उपमहानगरले वर्षभरि विभिन्न कार्यक्रम गरेर शहर स्थापनाको शतवार्षिकोत्सव मनाउने कार्यक्रम बनाएसँगै रंगेलीले कपाल मुण्डन, र्यायली र बजार बन्ददेखि चक्काजामसम्मका साताव्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।

उपमहानगरपालिकाले नगरवासीलाई २६ गते सबै घर, उद्योग र कार्यालयमा दिपावली गर्न सूचना जारी गरेको छ भने रंगेली नागरिक समाजले विराटनगरबाट २२ किलोमिटर पूर्वको बजारमा विरोधका लागि बेलुका ७ देखि एकघन्टा बत्ती निभाउन आह्वान गरेको छ।

समाजका अध्यक्ष अग्रवालले २४ गतेबाट विरोधका कार्यक्रमसँगै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने बताए।

यता, विराटनगरमा ख्याति कमाएका शहरवासीलाई सम्मानसँगै सांस्कृतिक, शैक्षिक, खेलकुद, साहित्यिक लगायतका कार्यक्रम गरिनेछ। शतवार्षिकोत्सवको अवसरमा वर्षभरि गरिने गतिविधिमा राष्ट्रिय खेलकुद आयोजनादेखि शहीद स्तम्भ, शतवार्षिक स्तम्भ, अन्तर्राष्ट्रिय प्रवेशद्वार र संग्रहालय निर्माणसम्मका योजना छन्।

नगरपालिकाका कार्यकारी अधिकृत प्रदीपकुमार निरौलाले मन्त्रिपरिषद्को बैठक पनि विराटनगरमा गर्न सरकारलाई आग्रह गरिने बताए।

खुम्चिंदो रंगेली

नागरिक समाज रंगेलीको १६ चैतको भेलामा गरिएको माइन्युटमा भनिएको छ, “सदरमुकाम विराटनगरमा सारिएपछि रंगेलीका विकास कार्यहरू रसातलमा पुगी मणि हराएको सर्प भएको छ।”

सदरमुकाम रहँदा हुलाकी राजमार्गले छोएको रंगेली बजार पूर्वको व्यापारिक केन्द्र थियो। नागरिक समाजका अध्यक्ष अग्रवाल सदरमुकाम लगेर विराटनगरलाई आकाशमा र रंगेलीलाई रसातलमा पुर्याअएको बताउँछन्।

“सरकारले पनि कसैलाई काखा कसैलाई पाखा गर्योए”, नेपाल–भारत मैत्री समाज रंगेलीका समेत अध्यक्ष रहेका अग्रवाल भन्छन्।

चार पुस्तादेखि रंगेलीको व्यापार धानेको परिवारका सदस्य रहेका अग्रवालका अनुसार, भारतको सीमाभन्दा चार किलोमिटर उत्तरको रंगेली सदरमुकाम गएको ७० वर्षपछिसम्म पनि मोरङको दोस्रो ठूलो बजार थियो।
स्थानीय किसान रामअवतार महतो (६५) २०१७ सालतिर रंगेलीमा पाँच वटा ठूल्ठूला राइस मील रहेको र त्यहाँबाट नेपालका सबै ठाउँ र भारतमा चामल लगिने गरेको सम्झ्न्छन्। तर अहिले त्यो अतीतको कुरा बन्न पुगेको छ।

रंगेली व्यापार संघका अध्यक्ष सन्तोषकुमार साहका अनुसार, ३० वर्षअघिसम्म धान, मकै र सनपाट बिक्रीका लागि झापा र मोरङका किसान रंगेली पुग्थे। तर, पूर्व–पश्चिम राजमार्ग बनेपछि हुलाकी राजमार्ग ओझेलमा परेर व्यापार हराउँदै गयो। आसपासका गाविसहरूका बजार पनि विस्तार हुँदै गएपछि त रंगेली पूरै सुनसान हुन थाल्यो।

“यहाँका व्यापारीहरू विराटनगर, वीरगञ्ज र काठमाडौंतिर गए, यहाँ लगानीकर्ताको अभाव हुन थाल्यो” अध्यक्ष साह भन्छन्।

रंगेली गाविस सचिव हरिप्रसाद पोखरेल चार जना चिकित्सक दरबन्दी भएको जिल्ला अस्पताल रंगेलीमा खोजेका वेला एक जना पनि नभेटिने बताउँछन्। उनका अनुसार, भन्सार चेकपोष्ट छ, तर रु.५०० भन्दा बढीको सामान ल्याउन पाइँदैन, इलाका प्रशासन छ, अधिकार छैन।

इलाका प्रशासनका प्रशासकीय अधिकृत लोचनप्रसाद दाहाल रंगेली शिक्षामा समेत पछाडि परेको बताउँछन्। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक माधव काफ्ले भारतसँग सीमा जोडिएको यो क्षेत्र शिक्षित व्यक्तिहरूको पलायन, बहुविवाह, घरेलु हिंसा, सीमा वारपार अपराध लगायतका समस्याले ग्रस्त भएको बताउँछन्।

रंगेलीलाई २०६३ सालमा भएको मधेश आन्दोलनले पनि क्षति नै गर्योब– इलाका प्रशासन, गाविस, ग्रामीण विकास ब्याङ्क, कृषि विकास ब्याङ्क लगायतका निकायमा आगजनी भएकोले।

नागरिकताको प्रमाणपत्र हराएपछि प्रतिलिपिका लागि गत मंसीरमा इलाका प्रशासन कार्यालय पुगेका स्थानीय विपुल पौदार (२८) पुरानो रेकर्ड नभेटिएपछि जिल्ला प्रशासन धाउन बाध्य भए।

रंगेली क्षेत्रमा पौदार जस्ता धेरै छन्, जसले आफ्नै ठाउँमा पाउनुपर्ने सरकारी सेवाका लागि विराटनगर धाउनु परेको छ। त्यसवेला आगजनी गरेको आरोपमा मुद्दा लागेका पनि अहिले रंगेलीमा विकास नभएको भनिरहेका छन्।
कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>