थप समाचारमंगलबार, चैत्र २५, २०७०
फेरिंदै राउटे
-यामकुमारी कँडेल
‘मोबाइल चाहिए पनि के गर्ने, वनमा चार्ज गर्नै मिल्दैन’ भन्ने राउटे समुदायका सल्लाहकार ऐनबहादुर शाही (५०) को भनाइले उनलाई मोबाइलको आवश्यकता बोध भएको देखाउँछ।
गत महीनादेखि जिल्ला वन कार्यालयबाट वीरबहादुर शाही, डिलबहादुर शाही, सूर्यबहादुर शाहीसँगै ‘वन हेरालु’ बनेका उनले वनमा आगो लागेको वा फँडानी हुँदै गरेको देख्दा मोबाइल भए खबर गर्न सजिलो हुने पनि बताए। तर, चार्ज गर्न बजार पुग्नुपर्ने र आवाजले शिकार उम्किने भएकाले तत्काल मोबाइल लिने रुचि नभएको उनको भनाइ छ।
परिवर्तन आउँदैछ
मध्यपश्चिम र सुदूरपश्चिमका जंगलमा बस्ने राउटेहरूको जीवनशैलीमा उल्लेखनीय परिवर्तन देखिन थालेका छन्। जिल्ला वन कार्यालय सुर्खेतमा हेरालु हुन जानुले पनि उनीहरूमा आएको परिवर्तन देखाउँछ।
शिकार गरेर, आफूले बनाएका काठका भाँडासँग अन्न साटेर र मागेर जीविका चलाउँदै आएका राउटेलाई काम गर्दा सजिलोसँग जीविकोपार्जन हुने बुझाउन वन हेरालु बनाइएको जिल्ला वन कार्यालयका प्रमुख शम्भुप्रसाद चौरसिया बताउँछन्।
सामाजिकीकरण गर्न सक्दा राउटेको अस्तित्व पनि जोगिने उनको विश्वास छ। एक जनालाई मासिक रु.१० हजार तलब दिने गरी वन हेरालु बनाउन खोज्दा सबैलाई बनाउनुपर्ने माग गरेपछि चार जनालाई मासिक रु.२५०० पाउने गरी २१ फागुनमा वन हेरालु बनाइएको थियो।
जंगलमा बस्ने भएकाले धेरै पानी पर्दा वा चर्को घाम लाग्दा अरूभन्दा राउटेहरूले बढी समस्या भोग्छन्। ती समस्याबाट बच्ने उपाय सिकाउन जिल्ला वन कार्यालयले ४० जना राउटेलाई केही महीना अघि दुईदिने तालिम दिएको थियो।
तालिममा वन मासिंदा वातावरण बिग्रिने र त्यसले आफैंलाई अप्ठ्यारो हुने बुझेपछि उनीहरू अहिले काँचा रूख नकाट्ने, जंगलमा आगो लाग्दा निभाउने र गाउँलेलाई पनि रूख काट्न नदिने बताउन थालेका छन्।
बाध्यताले परिवर्तन
आफूले बनाएका काठका भाँडा बिक्री हुन र वनमा बाँदर पाउन छाडेकाले खान समस्या परेको मुखिया बीरबहादुर शाहीको भनाइ छ। सरकारले दिंदै आएको खाद्यान्न पनि धेरैले रक्सीसँग साट्ने गरेकाले भोको पेट दिन बिताउनु परेको उनी बताउँछन्।
तर, अरूले लगाएको देखेर उनीहरू मागेर जुत्ता, चप्पल लगाउन थालेका छन् भने औषधि र नुहाउने साबुन पनि माग्न थालेका छन्।
खोजेका वस्तु दिने हो भने राउटेहरूलाई सामाजिकीकरण गर्न सकिने जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख टंक चापागाईंको विश्वास छ। वार्षिक रु.२० हजार पाउने गरी स्वास्थ्य स्वयंसेवक बस्न कुनै राउटे तयार नभए पनि जनस्वास्थ्यबाट खटिएका स्वयंसेविकाबाट जाँच गराउन मानेको उनले बताए।
औषधि खाँदा रोग निको हुने बुझन थालेकोले जँचाउन र औषधि खान उनीहरू तयार भएको उनको भनाइ छ। राउटेहरूको संरक्षण र स्वास्थ्य सुरक्षाका लागि ‘जिल्ला जनस्वास्थ्य समन्वय समिति’ ले यो वर्ष छुट्याएको रु.१ लाख ५० हजार स्वयंसेवक बनाएर भत्ता दिन, स्वास्थ्य जाँच र औषधिका लागि खर्च गरिने चापागाई बताउँछन्।
राउटेलाई आर्थिक सहयोग पुर्या उन जिल्ला वन कार्यालयको समन्वयमा वीरेन्द्रनगरमा ‘राउटे सामग्री खरीद बिक्री केन्द्र’ स्थापना गरिंदैछ। त्यो केन्द्र खुलेपछि राउटेहरूले बनाएका वस्तु सजिलोसँग बिक्री हुने र त्यसले उनीहरूमा आर्थिक महत्वाकांक्षा बढाउने वन कार्यालय सुर्खेतका प्रमुख चौरसिया बताउँछन्।
वन हेरालु बनेका राउटेहरूलाई नगदको साटो चेक दिएर ब्याङ्क जानुपर्ने बनाएको पनि उनको भनाइ छ। ‘चेक साट्न ब्याङ्क जाँदा धेरै कुरा थाहा पाउने भएकाले त्यो तरिका अपनाइएको हो’ चौरसिया भन्छन्।
राउटेहरूलाई समाजमा घुलमिल गराउन चलचित्रकी नायिका रेखा थापाले चार जना राउटे बालबालिकालाई काठमाडौं पुर्यााएर विद्यालय भर्ना गरिदिएकी छिन्। सुर्खेतको गढी गाविसमा गाडीको ठक्करबाट मृत्यु भएका राउटे युवा सुरेन्द्रबहादुरको परिवारले जिल्ला प्रशासन कार्यालय मार्फत रु.५ लाख क्षतिपूर्ति लिएको थियो।
तर, राउटेका पूर्व मुखिया मैनबहादुर शाही भने पुर्खादेखिको चालचलन छाड्न नसकिने भएकाले समाजमा घुलमिल हुन गाह्रो हुने बताउँछन्। छोराछोरीलाई पढ्न र जागीर खान पठाउन पनि अहिले नसकिने उनको भनाइ छ।

