थप समाचारबुधबार, चैत्र २६, २०७०
शिक्षक, नेता र स्वयम्सेविकाको घरमै छैन शौचालय
सुर्खेतको पश्चिमी क्षेत्रका केही गाविसका स्थानीय शिक्षक, स्वास्थ्य स्वयम्सेविका, राजनीतिक दलका नेता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न निकायमा कार्यरत कर्मचारीलगायत बुद्धिजीवीका घरमा शौचालय नभएको पाइएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोली संयोजक आवेद हुसेन मिया ठकुराईका अनुसार अनुगमन टोलीका अनुसार नेपाली कांग्रेसका स्थानीय नेता मयाराम जैसी, एमाओवादीका रुद्रप्रसाद जैसी र लगाम उच्चमाध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर शाहीको घरमा शौचालय छैन । उनीहरुले खुल्ला बारी, खेत र झाडीलाई नै शौचालय बनाएका छन् ।
यसैगरी माध्यमिक विद्यालय धनरासका प्रधानाध्यापक कर्णबहादुर कठायत, प्राथमिक विद्यालय साताका प्रधानाध्यापक तारासिहं बडौला, काप्रीकाँडाका प्रधानाध्यापक रामनारायण शाह, लगाम–ं६ का विद्यालयका प्रधानाध्यापक सादुश्वर, अर्काे एक विद्यालयका प्रधानाध्यापक मानबहादुर वम र लगाम–२ का विद्यालयका प्रधानाध्यापक नरबहादुर वान्तोलाको घरमा पनि शौचालय नभएको अनुगमन टोलीले जानकारी दिएको छ ।
यसैगरी उक्त गाविसका शिक्षक÷शिक्षिका अञ्जु शाही, राजेन्द्र धामी, तिलक बान्तोला, चन्द्रनारायण चौधरी, तारा बडाइला, चन्द्रादेवी शाह, भक्त बोहोरा, लोकबहादुर बोहोरा, चुम्मान बोहोरा, लक्ष्मी खण्डी, रामसुन्दर यादव, गोपाल बन, प्रेमबहादुर कठायत, गोपीसिंह बम, निरक बडुवाल, मानबहादुर सिञ्जाली, लालबहादुर खत्री, चित्र गौतम, वीरबहादुर बडुवाल, गेहेन्द्रप्रसाद जैसी, हिमकला भण्डारीलगायतको घरमा समेत शौचालय नभएको पाइएको छ ।
यस गाविसमा जम्मा ६८४ घरपरिवार रहेकामा अहिलेसम्म ७६ घरपरिवारले मात्र शौचालयको प्रयोग गर्ने गरेका छन् ।
लगाम गाविस क्षेत्रभित्रका अधिकांश महिला, स्वास्थ्य स्वयम्सेविका पनि खुला दिसा गर्ने गरेको पाइएको अनुगमनमा संलग्न पत्रकार मानबहादुर वलीले जानकारी दिए ।
खुला दिसा गर्न हुँदैन भन्ने जानकारी हुँदाहुँदै जनचेतनाको कमी, खानेपानी समस्या र गरिबीका कारण चर्पी नबनाएको स्थानीयले बताएका छन् ।
गाविस सचिव जङ्गबहादुर धामीले भने जिल्लाको अभियान पूरा गर्न असार मसान्तभित्र गाविसमा प्रत्येक घरमा जसरी पनि शौचालय निर्माण गराउने दाबी गर्नुभयो ।
यस्तै वेतान गाविस कार्यालयले खुला दिसामुक्त गाविस घोषणाका लागि तीन वर्षअगाडि गाउँमा बाँडेका शौचालय निर्माणसम्बन्धी सामग्री बेवारिसे अवस्थामा पाइएको छ । गाविस कार्यालयले सेवा क्षेत्रभित्रका प्रतिघर परिवारलाई तीन वर्षदेखि सिमेन्ट, सरिया र प्यान बाँडेको थियो ।
सुन्दर नेपाल संस्था सुर्खेतको आयोजनामा जिल्लास्तरीय अनुगमन टोलीले वेतान, लगाम र विजौरा गाविसको अनुगमन गरेको हो ।
रासस
